निरज ५ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा
धरान (हाम्रो खेलकुद)- सूर्य नेपाल इस्टर्न ओपनमा नेपाल नम्बर एक प्रो गल्फर निरज तामाङ लगातार दोस्रो दिन बिहीवार ६-अन्डर ६४ को स्कोरमा ५ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै छन्।
निरजले एमेच्योर गल्फर राहुल विश्वकर्मालाई ५ स्ट्रोकले पछि पार्ने क्रममा निरजले समग्रमा १२-अन्डर १ सय २८ लोभलाग्दो प्रदर्शन गरे। राहुलले पनि ६-अन्डर ६४ को स्कोर निकाल्दा समग्रमा ७-अन्डर १ सय ३३ सहित दोस्रो स्थानमा रहे।
समग्रमा ४-अन्डर १ सय ३६ को स्कोरमा धरानका प्रो शुक्र बहादुर राई र टंक बहादुर कार्की संयुक्तरुपमा तेस्रो स्थान बाँडे। शुक्रले ३-अन्डर ६७ र टंकले १-अन्डर ६९ मा दोस्रो दिनको खेल सकाए।
आज ४-अन्डर ६६ खेल्दै दिनेश प्रजापति समग्रमा ३-अन्डर १ सय ३७ सहित पाँचौ स्थानमा रहेका छन्। समग्रमा १-अन्डर १ सय ३९ सहित रवि खड्का, भुवन नगरकोटी र बलभद्र राई संयुक्तरुपमा छैटौं स्थान बाँडे। रविले आज १-अन्डर ६९, भुवनले इभन-पार ७० र बलभद्रले २-ओभर ७२ को स्कोर निकाले।
समग्रमा २-ओभर १ सय ४२ स्कोरका साथ दुई एमेच्योर पदम हाङ्ग लिम्बु र प्रकृत तामाङ संयुक्तरुपमा नवौ स्थानमा रहे। पदमले आज २-अन्डर ६८ र प्रकृतले ३-ओभर ७३ को स्कोर तयार पारे।
नेपाल नम्बर एक निरजले आफ्नो घरेलु कोर्समा लागातार दोस्रो दिन ६-अन्डर खेल्ने क्रममा दोस्रो , तेस्रो, पाँचौं, छैटौं, आठौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गरे। ६ बर्डीको सहायतामा बोगी फ्रि ६-अन्डर ३० मा फ्रन्ट नाइनको खेल सानदार शैलीमा सकाए। ११ औं होलमा पनि एक सट बचाए तर १५ औं होलको बोगीले ब्याक नाइन इभन-पार ३४ मा सकाए।
राहुलले आज बोगी रहित कार्ड बनाउने क्रममा फ्रन्ट नाइन ३-अन्डर ३३ र ब्याक नाइन पनि ३-अन्डर ३१ मा सकाए। उनले पाँचौ, छैटौं नवौं, दशौं , बार्है र अठारौं होलमा गरी कुल ६ बर्डीको सफलता प्राप्त गरे।
शुक्रले दोस्रो, तेस्रो र सातौं होलमा बर्डी प्रहार गरेपनि चौथो र पाँचौं होलमा एक-एक सट खेर फाल्दै फ्रन्ट नाइन १-अन्डर ३५ मा पुरा गरे। यसपछि १२ औं र १५ औं होलमा बर्डी खेल्दै ब्याक नाइन २-अन्डर ३२ मा सकाए।
टंकले दोस्रो होलको बोगीका विरूद्ध पहिलो र सातौं होलमा बर्डी खेप्दा फ्रन्ट नाइन १-अन्डर ३५ खेले। यसपछि १० औं, १२ औं र १८ औं होलमा एक-एक सट बचाए। ११ औ, १४ औं र १५ औं होलको बोगीले ब्याक नाइम इभन-पार ३४ मा सकाए।
३६ होलको समाप्तिमा ११-ओभर १५१ सम्म स्कोर गरेका १७ प्रोफेसनल तथा ७ एमेच्योर खेलाडीले कट बनाए। आज १४औं होलमा होल-इन-वान गरेका जयराम श्रेष्ठ सहित प्रोफेसनल खेलाडी सुमन परियार, सुनिल केसि, सञ्जय लामा, सुमन राई, भुवन कुमार रोक्का, दीपक मगर, कृष्णमान राजबाहक, सुरेश तामाङ, सूर्य प्रसाद शर्मा र धन बहादुर थापाले तेस्रो तथा अन्तिम दिनको लागि स्थान सुरक्षित गरे।
एमेच्योर तर्फ राहुल ७-अन्डर १३३ स्कोर सहित शीर्ष स्थानमा रहेका छन। उनी पदम हाङ लिम्बु र प्रकृत तामाङ भन्दा ९ स्ट्रोकले अगाडी रहेका छन। अन्य चार एमेच्योर खेलाडी, सुन्दर राई, राम तामाङ, जितेन्द्र राई र बलराम पौडेलले पनि कट बनाए।
११-ओभर १५१ स्कोर गरेपनि शिव कुमार माझी, थाम बहादुर राई, राजेन राई तथा एमेच्योर गजेन्द्र लिम्बु काउन्ट ब्याकका आधारमा कट बनाउन सकेनन।
सूर्य नेपाल प्रा.लि.को प्रायोजनमा सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत तीन दिनसम्म चल्ने दोस्रो प्रतियोगिता तीन दिनसम्म चल्ने ५४ होलको प्रतिस्पर्धामा कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ।
प्रतियोगिताको उपाधि विजेताले १ लाख ७० हजार , दोस्रोले १ लाख २५ हजार र तेस्रोले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा ३० जना व्यावसायिक खेलाडी तथा २२ एमेच्योर खेलाडीले उपाधिको लागि दाबेदारी प्रस्तुत गरेका छन्।
प्रतियोगिताको समापन माघ १७ गते शनिबार प्रो–एम प्रतियोगितासँगै हुनेछ। प्रो–एम इभेन्टमार्फत एमेच्योर गल्फरहरूले व्यावसायिक खेलाडीसँग एउटै टिममा खेल्ने अवसर पाउनेछन्। जसले प्रतियोगितालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।
सूर्य नेपाल गल्फ टुर २०२५-२६ मा कुल आठ प्रतियोगिता समावेश छन्। जसको समग्र पुरस्कार राशि ८० लाख रुपैयाँ रहेको छ। नेपालको प्रमुख व्यावसायिक गल्फ सर्किटका रूपमा स्थापित यो टुरले यस वर्ष पनि प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
The post निरज ५ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा first appeared on हाम्रो खेलकुद.