npl.977 Nepal News Stream

#‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)’

Himal Press logo Himal Press

नवौं ‘निफ’ मा ४० देशका ८८ फिल्म देखाइने, चैत १९ देखि सुरु

Susmita Bajagain 6 hours ago

काठमाडौँ- नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) को नवौं संस्करण आगामी चैत १९ देखि २३ गते (अप्रिल २–६, २०२६) सम्म हुने भएको छ।

‘विश्वभरका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारालाई निरन्तरता दिँदै आयोजकले यस संस्करणको महोत्सवको मिति घोषणा गरेको हो।

आयाेजकले यसअघि  निफ फागुनमा २१ देखि सुरु हुने घोषणा गरेको थियो। गत भदौ २३-२४ मा भएको जेनजी आन्दोलनले फागुनमा आम निर्वाचन हुने भएकाले यसको मिति एक महिनापछि सारिएको आयोजकले जनाएको छ।

पाँच दिनसम्म चल्ने नवौं संस्करणमा ४० देशका ८८ फिल्म प्रदर्शन हुने आयोजकले जनाएको छ। साथै फिल्मकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम पनि हुनेछ।

नवौं संस्करणमा युवा पुस्ताको रुचिलाई केन्द्रमा राखेर फिल्महरु चयन गरिएको निफका अध्यक्ष केपी पाठकले जानकारी दिए। उनका अनुसार यो वर्ष ८० भन्दा बढी देशबाट ८०० बढी फिल्मले आवेदन दिएको निफका अध्यक्ष केपी पाठकले जानकारी दिए।

‘हामीले यो पटक युवापुस्ता केन्द्रित फिल्मलाई प्राथमिकता दिएका छौँ। निफलाई युवा मैत्री बनाउने हाम्रो प्रयास रहेको छ,’ निफका अध्यक्ष पाठकले भने, ‘युवा मेकरहरुलाई प्राेत्सोहन गर्न हामीले एआई फिल्म मेकिङको कार्यशाला लगायतका सेसन पनि राखेका छौँ। फिल्मबाट युवा दर्शकलाई आशा जगाउने हाम्रो मुख्य प्रयास रहनेछ।’

उनका अनुसार यसवर्ष विश्व प्रतिष्ठित कान्स, बर्लिन, भेनिस, ट्राइबेका, संघाई, लोकार्नो, बुसान, गोवा लगायत फिल्म महोत्सवमा सहभागी भएका र अवार्ड जितेका फिचर फिल्म, सर्टफिल्म, एआईबाट बनेका फिल्म र डकुमेन्ट्री फिल्म छनोटमा परेको छ।

ती फिल्मलाई निफले विभिन्न शीर्षकमा अवार्ड वितरण गर्दै आएकाे छ। निफको शीर्ष अवार्डमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मका विजेतालाई ‘गौतम बुद्ध अवार्ड’ बाट नगदसहित एक हजार पाँच सय अमेरिकी डलर नगद र ट्रफीले सम्मान गरिनेछ। सर्वोत्कृष्ट राष्ट्रिय फिल्मका विजेता एक लाख रुपैयाँ नगद र ट्रफीले सम्मानित हुनेछन्।

डकुमेन्ट्री फिल्म विधामा सर्वोत्कृष्ट ठहर हुने फिल्मलाई ‘माउन्टे एभरेस्ट अवार्ड’ पुरस्कार दिइनेछ।सर्वोत्कृष्ट दक्षिण एसियाली फिचर फिल्म, एआई फिल्म विधाका विजेतालाई ‘मञ्जुश्री अवार्ड’ अन्तर्राष्ट्रिय स्टुडेन्ड सर्ट फिल्मका विजेताले ‘बेस्ट स्टुडेन्ड फिल्म अवार्ड’, राष्ट्रिय सर्ट फिल्म विधाका विजेताले ‘सर्वोत्कृष्ट राष्ट्रिय सर्ट फिल्म अवार्ड’ राष्ट्रिय डुकुमेन्ट्री विधाका विजेताले ‘वेस्ट नेसनल डकुमेन्ट्री’ अवार्ड वितरण गरिनेछ।

त्यस्तै राष्ट्रिय फिचर फिल्मतर्फ सर्वोत्कृष्ट निर्देशक, अभिनेता, अभिनेत्री ,पटकथा लेखक, छायाकारलाई ट्रफीले पुरस्कृत गरिने आयोजकले जनाएको छ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली फिल्मलाई विश्व बजारसँग जोड्ने उद्देश्यले निफको आयोजना गरिरहेको छ।

Explore by Source or Category