npl.977 Nepal News Stream

#शैली

Taksar News logo Taksar News

ललितपुरकाे नकबहिलमा पाँच वर्षमा एकपटक हुने लसता सम्यक महादान पर्व सम्पन्न

टक्सार न्युज 13 hours ago

काठमाडाैँ । ललितपुर–१६ नकबहिलमा बौद्ध धर्मावलम्बीहरूले पाँच वर्षमा एकपटक आयोजना हुने लसता सम्यक महादान पर्व मनाएका छन्। यो पर्व लोकाकीर्ति महाविहार संरक्षण समिति, नकबहिल टोल विकास समिति र न्यकू जात्रा मठयाः सञ्चालन समितिको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

स्थानीय बौद्ध धर्मावलम्बी हिरण्यनरसिंह शाक्यका अनुसार, पर्वमा दीपंकर बुद्धको स्थापना गरी पूजा र होम आयोजना गरिन्छ। नेपाल संवत १०४७ मा बाघनरसिंह शाक्य लामा आजूले दीपंकर तथागत स्थापना गरी संवेग महादान गरेको १०० वर्ष पुगेको अवसरमा यस वर्ष लसता सम्यक महादान गरिएको हो।

दीपंकर बुद्धप्रति श्रद्धा व्यक्त गर्दै प्रदान गरिने दान नै सम्यक महादान पर्वको मुख्य आकर्षण हो। महादानमा उपत्यकाका विभिन्न महाविहारका देवी–देवतामूर्तिहरू पूजाका लागि भेला गरिन्छ।

बज्रयानी बौद्ध परम्पराअनुसार, मौलिक पोशाकमा सजिएका हिरण्यवर्ण महाविहारका बीस स्थविर र आजूहरूले दान ग्रहण गर्नुहुन्छ। सम्यक दानमा सहभागी घरस्थ भिक्षु, बज्राचार्य र शाक्यहरूले समेत दान पाउँछन्। यस अवसरमा दानकर्ता परिवारका सदस्य र आफन्तले पनि आफ्ना गच्छेअनुसार दान दिने परम्परा रहँदै आएको छ।

दानमा खीर, लाखामरी सहितका मिठाइ, रोटी, फलफूललगायतका सामग्री राखिन्छ। यसरी प्रदान गरिएको दानले पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।

Explore by Source or Category