npl.977 Nepal News Stream

#शिक्षा

Contents
Kendrabindu logo Kendrabindu

‘काठमाडौँ मोडल युनाइटेड नेसन्स–२०२६’ भव्य उद्धघाट, ४०० बढी विद्यार्थी प्रतिनिधिहरूको सहभागिता

इन्द्र कमल रोक्का 12 hours ago

काठमाडौँ । काठमाडौँ मोडल युनाइटेड नेसन्स (के.एम.यु.एन.) २०२६ को उद्घाटन सत्र भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । अपोलो इन्टरनेशनल कलेज र काठमाडौँ मोडल कलेजको संयुक्त आयोजनामा सम्पन्न यस सम्मेलनले युवा नेतृत्व, कूटनीति र अन्तर्राष्ट्रिय संवादलाई एउटै साझा मञ्चमा ल्याउने उद्देश्य लिएको छ ।

शैक्षिक अभ्याससँगै विश्वव्यापी सोच र उत्तरदायी नागरिक उत्पादन गर्ने लक्ष्यसहित आयोजना गरिएको यस कार्यक्रमलाई संयुक्त राष्ट्रसंघ नेपाल तथा विभिन्न प्रतिष्ठित व्यावसायिक संस्थाहरूले रणनीतिक साझेदारी र सहयोग प्रदान गरेका छन् ।

यस वर्षका के.एम.यु.एन. २०२६ मा नेपाल र भारतका विभिन्न विद्यालय तथा कलेजबाट आएका ४०० भन्दा बढी विद्यार्थी प्रतिनिधिहरूको सहभागिता रहेको छ । सहभागीहरू १५ वटा फरक–फरक समितिहरूमा विभाजन भई विश्वका समसामयिक राजनीतिक, सामाजिक, आर्थिक तथा मानवीय मुद्दाहरूमा गहन छलफल र बहस गर्नेछन् । यस सम्मेलनको विशेष आकर्षणका रूपमा पहिलो पटक अन्तर्राष्ट्रिय विशेषज्ञहरू कार्यकारी बोर्डमा समावेश गरिएको छ ।

उद्घाटन सत्रमा बोल्दै काठमाडौँ मोडल कलेज (केएमसी) बागबजारका प्रिन्सिपल डा.नगेन्द्र अर्यालले मोडल युनाइटेड नेसन्सको उद्देश्य विद्यार्थीलाई केवल किताबी ज्ञानमा सीमित नराखी विश्वका जिम्मेवार नागरिक र भावी कूटनीतिज्ञको रूपमा तयार गर्नु रहेको बताए । उनले संवाद, सहकार्य र आपसी सम्मानका माध्यमबाट जटिल वैश्विक समस्याहरूको समाधान खोज्ने क्षमता विकास गर्नु आजको आवश्यकता भएको उल्लेख गरे । साथै, यस मञ्चमार्फत सहभागीहरूले तर्क गर्ने क्षमता, आत्मविश्वास अभिवृद्धि गर्ने र अरूको दृष्टिकोणलाई सम्मान गर्ने महत्वपूर्ण सीपहरू हासिल गर्ने बताए ।

त्यस्तै, अपोलो इन्टरनेशनल कलेजका प्रिन्सिपल अर्पन उपाध्यायले (के एम यु एन) लाई केवल अभ्यासमा सीमित कार्यक्रम नभई नेतृत्व र कूटनीति सिक्ने सुन्दर अवसरको रूपमा वर्णन गरे । उनले किताबी ज्ञान र मार्कसिटले मात्र व्यक्तिको पहिचान नखुल्ने भन्दै साँचो सिकाइ आत्मविश्वास, सही प्रश्न सोध्ने साहस र आफ्नै कम्फर्ट जोनबाट बाहिर निस्कने इच्छाबाट प्राप्त हुने बताए । गल्तीबाट नडराई संवाद, धैर्यता र अरूको कुरा सुन्ने बानी नै भविष्यको ठूलो शक्ति भएको उनको भनाइ थियो ।

समग्रमा, काठमाडौँ मोडल युनाइटेड नेसन्स २०२६ ले शैक्षिक अभ्यासभन्दा माथि उठेर शान्तिपूर्ण सहअस्तित्व, नेतृत्व विकास र विश्वव्यापी नागरिकता निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।

Kendrabindu logo Kendrabindu

शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

इन्द्र कमल रोक्का 12 hours ago

बागलुङ। राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै नेपालीको चाहनाअनुसार सुरक्षित भविष्यको लागि मुलुकलाई निकास दिन आगामी फागुन २१ गतको लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पार्न अपिल गरेका छन् । राष्ट्रपति पौडेलले त्रिभुवन माध्यमिक विद्यालय बलेवा, बाग्लुङले बिहीबार आयोजना गरेको हीरक महोत्सवलाई सम्वोधन गर्दै शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नुपर्ने दायित्वका लागि यो निर्वाचनलाई सफल पार्नुपर्ने बताएका हुन् ।

‘हामीले ठूलो संघर्ष र बलिदानबाट प्राप्त गरेको संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीले शासनमा बसेकाहरूबाट जनताप्रतिको यहि दायित्वसहित दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नुपर्ने दायित्वको अपेक्षा गरेको छ । यो हामीले बिर्सन हुन्न,’ उनले भने ।

राष्ट्रपति पौडेलले आजको बदलिँदो विश्वमा गुणस्तरीय, प्रविधिमैत्री र मूल्यमा आधारित शिक्षाको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै विद्यालयहरूले ज्ञानसँगै नैतिकता, सीपसँगै संस्कार र शिक्षासँगै राष्ट्रप्रेम विकास गर्दै आगामी दिनमा पनि उत्कृष्ट शैक्षिक पहिचान कायम राख्न अझ उन्नत ढङ्गले युगानुकुल शैक्षिक क्रियाकलापका नविनतम आयामहरूलाई अघि बढाउन ध्यान दिनुपर्ने बताए ।

Kendrabindu logo Kendrabindu

राष्ट्रपति पौडेल बागलुङमा

इन्द्र कमल रोक्का 15 hours ago

ढोरपाटन। राष्ट्रपति रामचन्द्र पौडेल बागलुङमा गएका छन् । बागलुङ नगरपालिका–१३ पैयुँपाटस्थित त्रिभुवन माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहमा सहभागी हुन उनी नेपाली सेनाको हेलिकप्टरमा केहीबेरअघि पुगेका हुन्।

राष्ट्रपति पौडेललाई हेलिप्याडमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले स्वागत गरे ।

Taksar News logo Taksar News

यूएईमा अध्ययन गराइदिने नाममा ठगी गर्ने पाँच कन्सल्टेन्सी सञ्चालक पक्राउ

टक्सार न्युज 17 hours ago

काठमाडौँ । यूएईमा अध्ययन गराइदिने बहानामा लाखौं रुपैयाँ ठगी गरेको आरोपमा विभिन्न शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी) का सञ्चालकहरू पक्राउ परेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौँका विभिन्न स्थानमा कार्यालय सञ्चालन गर्दै विद्यार्थीहरूलाई भ्रममा पारी ठगी गरेको अभियोगमा पाँच जनालाई नियन्त्रणमा लिएको हो।

सीआईबीका अनुसार ती कन्सल्टेन्सीहरूले फ्रान्स, अष्ट्रेलिया लगायतका मुलुकका विश्वविद्यालयबाट मान्यता प्राप्त भनी यूएईमा रहेका कलेजमा क्रेडिट ट्रान्सफर हुने शैक्षिक कोर्स अध्ययन गराइदिने आश्वासन दिएका थिए।

तर, यूएईका सबै शैक्षिक संस्थालाई अनुमति दिने उच्च शिक्षा मन्त्रालयअन्तर्गतको निकाय एमओएचईएसआर तथा कमिसन फर एकेडेमिक एक्रेडिटेसन (सीएए) बाट स्वीकृति नलिएका ट्रेनिङ इन्स्टिच्युटमा विद्यार्थीलाई पठाइएको प्रहरीको दाबी छ।

यस क्रममा प्रति विद्यार्थी ८ लाख रुपैयाँदेखि २२ लाख रुपैयाँसम्म रकम असुल गरिएको र हालसम्म १३ जना पीडितले जाहेरी दिएको सीआईबीले जनाएको छ। सोही आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई बुधबार अभियुक्तहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा नुवाकोट दुप्चेश्वर नगरपालिका–६ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–३१ स्थित बेस्ट पाथ एजुकेसन प्रा.लि. का सञ्चालक २९ वर्षीय कृष्ण थापा, कपिलवस्तु बुद्धभूमि नगरपालिका–४ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–७ नारायणगोपाल चोकस्थित मर्सी एजुकेसन कन्सल्टेन्सी प्रा.लि. का सञ्चालक रामचन्द्र टन्डन रहेका छन्।

यसैगरी काठमाडौँ महानगरपालिका–३१ स्थित सिटीहब एजुकेसन नेटवर्क प्रा.लि. का सञ्चालक ३१ वर्षीय सुवास सिलवाल क्षेत्री, दार्चुला लेकम गाउँपालिका–२ स्थायी ठेगाना भई हाल लाजिम्पाटस्थित कान्तिपुर अब्राड कन्सल्टेन्ट प्रा.लि. का सञ्चालक ४८ वर्षीय हेमराज भट्टडू तथा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ स्थायी ठेगाना भई हाल सोही कन्सल्टेन्सीका सञ्चालक ४८ वर्षीय दामोदर ढकाल रहेका छन्।

प्रहरीका अनुसार उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगीसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ। यस सम्बन्धमा थप पीडितहरू सम्पर्कमा आउन सक्ने भन्दै प्रहरीले सतर्क रहन आग्रह गरेको छ।

Explore by Source or Category