राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
शुल्क वृद्धिविरुद्ध वैदेशिक रोजगार व्यवसायी
काठमाडौं । वैदेशिक रोजगार व्यवसायीले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमाथि थप व्ययभार हुनेगरी बढाइएको स्वास्थ्य परीक्षण शुल्कवृद्धिको विरोध गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघलगायत विभिन्न राजनीतिक दल निकट वैदेशिक रोजगार व्यवसायीका भ्रातृ संस्थाहरूले संयुक्त रूपमा बढाइएको स्वास्थ्य परीक्षण शुल्कको विरोध गरेका हुन् ।
उनीहरूले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाउनु अव्यवहारिक भएको भन्दै तत्काल बढाइएको शुल्क वृद्धि फिर्ता लिन माग गरेका छन् । स्वास्थ्य व्यवसायीले गत बुधबारदेखि लागू हुनेगरी वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाएको छ । स्वास्थ्य व्यवसायीको नयाँ निर्णयपछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण शुल्क बढेर प्रतिकामदार ९ हजार ५ सय रुपैयाँ पुगेको छ ।
तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ८ चैत २०८१ मा गरेको मन्त्रीस्तरीय निर्णयअनुसार स्वास्थ्य व्यवसायीले बढाइएको नयाँ स्वास्थ्य परीक्षण शुल्क संरचना कार्यान्वयनमा ल्याएका हुन् । यसअघि स्वास्थ्य व्यवसायीले नेपाली कामदारबाट प्रतिव्यक्ति ६ हजार ५ सय रुपैयाँ लिँदै आएका थिए । नयाँ व्यवस्थाबमोजिम सरकारले स्वास्थ्य परीक्षण सेवा गुणस्तरीय बनाउनुपर्ने आवश्यकता औँल्याउँदै परीक्षणका प्रकार ३४ वटा पु¥याएको छ । सोहीअनुसार शुल्कवृद्धि अनिवार्य गरिएको नेपाल स्वास्थ्य व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार यस निर्णय तत्कालीन समयमा विवादमा परेपछि लागू हुन सकेको थिएन । अहिले विभागीय मन्त्रीसमेत नभएको अवस्थामा स्वास्थ्य व्यवसायीहरूले वृद्धि गरिएको शुल्क लागू गर्न थालेका हुन् । स्वास्थ्य व्यवसायीले गत बुधबारदेखि नै यसअघिको स्वास्थ्य परीक्षण शुल्क संयुक्त अरब इमिरेट्स (यूएई) को हकमा प्रतिकामदार ४ हजार ५ सय रुपैयाँमा दुई गुणाभन्दा बढी शुल्कवृद्धि गरी ९ हजार ५ सय रुपैयाँ र अन्य मुलुकको हकमा ६ हजार ५ सयमा ३ हजार थप गरेर ९ हजार ५ सय रुपैयाँ कायम गरेका छन् ।
नेपाल स्वास्थ्य व्यवसायी महासंघ, नेपाल मेडिकल व्यवसायी संघलगायतका स्वास्थ्य व्यवसायीका संस्थाहरूले हाल कामदारको स्वास्थ्य परीक्षणको क्षेत्र बढेका कारण स्वास्थ्य परीक्षणको गुणस्तर कायम राख्न शुल्कवृद्धि गर्न‘ बाध्यता भएको बताइरहेका छन् ।
स्वास्थ्य व्यवसायीले यस्तो भनेर शुल्क बढाएको बेला अहिले वैधानिक रूपमा श्रम स्वीकृति लिएर नेपाली कामदार विदेश पठाउने काम गर्दै आएका वैदेशिक रोजगार व्यवसायीहरूले भने कामदारलाई बढी भार हुनेगरी बढाइएको स्वास्थ्य परीक्षण शुल्क तत्काल फिर्ता गर्न माग गर्दै विरोध जनाएका हुन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघलगायत प्रमुख राजनीतिक दल निकट वैदेशिक रोजगार व्यवसायीका संस्थाहरूले बढाइएको शुल्क वृद्धिको निर्णयले विपन्न अवस्थामा रहेका कामदारमाथि आर्थिक भार थपेको भन्दै तत्काल सो निर्णय फिर्ता गरी पुरानै शुल्कमा स्वास्थ्य परीक्षण गर्न‘पर्ने माग गरेका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघलगायत नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, वैदेशिक रोजगार युवा व्यवसायी संघले भिन्दाभिन्दै विज्ञप्ति जारी गरी बढाइएको स्वास्थ्य परीक्षण शुल्क वृद्धिको निर्णय जतिसक्दो छिटो फिर्ता गर्न माग गरेका छन् ।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणको शुल्कवृद्धिको विषय संघको पनि गम्भीर सरोकारको विषय भन्दै छलफल र जानकारीबिना लागू हुन नसक्ने दाबी गरे ।
उनले कामदारमाथि थप आर्थिक भार हुनेगरी बढाइएको नयाँ स्वास्थ्य परीक्षण शुल्क कुनै हालतमा स्वीकार नगर्ने अवस्थामा संघ र व्यवसायी रहेकाले जतिसक्दो छिटो पुरानै शुल्कमा स्वास्थ्य परीक्षण गरिनुपर्ने माग गरे ।
नेपालमा कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाले आफूले गरेको स्वास्थ्य परीक्षणको जिम्मेवारी एक महिनाका लागि मात्रै लिने, तर कारणवश एक महिनाभित्र कामदार श्रम गन्तव्यमा उड्न नसकेको अवस्थामा पुनः स्वास्थ्य परीक्षण गर्न‘पर्ने भएमा कामदार थप मारमा पर्नेलगायत धेरै समस्याहरू रहेको उनले जानकारी दिए ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले पनि बढाइएको स्वास्थ्य परीक्षण शुल्क तत्काल फिर्ता लिन माग गरेको छ । एसोसिएसनले जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले प्रतिनिधि सभाको चुनावको तयारीमा ध्यान केन्द्रित गरेको र श्रम मन्त्रालय छुट्टै विभागीय मातहत नभई प्रधानमन्त्री मातहत रहेको अवस्थाको फाइदा उठाएर स्वास्थ्य परीक्षण शुल्क बढाउने काम भएकोप्रति गम्भीर आपत्ति जनाएको छ ।
संघका प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठले स्वास्थ्य परीक्षणको शुल्कवृद्धिको विषयमा संघको तर्फबाट आफूले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर जानकारी गराएको र आज (आइतबार) बिहान संघको प्रतिनिधिमण्डलले सामूहिक रूपमा भेटेर छलफल गर्ने तयारी भएको जानकारी गराए ।
हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न १ सय ७१ वटा स्वास्थ्य संस्थालाई सूचीकरण गरेको छ । सोही सूचीकरणको एक साता बित्न नपाउँदै स्वास्थ्य व्यवसायीले साबिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ सय रुपैयाँ कायम गरेका थिए ।
उनीहरूले मन्त्रालयले जारी गरेको स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधिहरू २०७२ को छैटौँ संशोधन २०८१ मा हेपाटाइटिस बी र सी, मलेरिया, सुगर, टाइफाइड, रक्त परीक्षण गर्दा सीबीसी, इएसआर, प्लेटलेट, क्षयरोग परीक्षण गर्दा छातीको भिडियो एक्स–रे, मांसपेशी र हड्डीका समस्या, क्यान्सर, मधुमेह, मुटुरोग, म्यान्टोक्स परीक्षण, स्पुटम एएफबी, मिर्गौला परीक्षण गर्दा सिरम युरिया, क्रेटिनियन श्वासप्रश्वास, छालाका रोगसमेत ३४ प्रकारका रोगको परीक्षण गर्न‘पर्ने प्रावधान कायम गरिएकाले शुल्क बढाउनु रहर नभई बाध्यता भएको बताएका छन् । तर, वैदेशिक रोजगार व्यवसायीले भने वैदेशिक रोजगारीमा जाने कामदारको सम्पूर्ण शरीर जाँच ‘होलबडी चेक’ गर्दासमेत हाल ८ हजार ५ सय रुपैयाँले पुग्ने दाबी गरेका छन् ।
नेपाल मेडिकल व्यवसायी संघले यसअघि १९ वटा परीक्षणको ६ हजार ५ सय रुपैयाँ शुल्क रहेकोमा नयाँ कार्यविधिअनुसार ३४ वटा परीक्षण गर्न‘पर्ने अवस्थामा शुल्क बढेको नभई घटेको दाबी गर्दै गुणस्तरीय स्वास्थ्य परीक्षणमा सबै पक्षको जोड हुनुपर्ने बताएको छ ।
बढाइएको नयाँ शुल्कबमोजिम नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघले आफ्ना सदस्य व्यवसायीलाई पत्राचार गर्दै प्रतिकामदार ९ हजार ५ सय रुपैयाँकै प्याकेज लागू गर्न निर्देशन दिएका छन् ।
महासंघका अनुसार सरकारले तोकेको ३४ प्रकारका स्वास्थ्य परीक्षण अनिवार्य रूपमा गर्ने व्यवस्था छ । जसका लागि स्वास्थ्य संस्थाहरूलाई प्रविधिमैत्री (डिजिटलाइजेसन) बनाउने कार्य मन्त्रालयले निरन्तर अघि बढाइरहेको छ । तोकिएको मापदण्ड पूरा गर्नका लागि सरकारले स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूको नाम सूचीकरणमा राखेर गुणस्तरीय परीक्षणलाई विशेष जोड दिने नीति लिएको छ ।
The post शुल्क वृद्धिविरुद्ध वैदेशिक रोजगार व्यवसायी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....