npl.977 Nepal News Stream

#विशेष

Clickmandu logo Clickmandu

मौन अवधिअघि फेसबुक स्पोन्सर्ड एडमा उम्मेदवारको खर्च बढ्यो, एकैदिन ४६ वटासम्म कन्टेन्ट बुस्ट

क्लिकमान्डु 20 hours ago

काठमाडौं । प्रतिनिधिसभा २०८२ को निर्वाचनका लागि मौन अवधि सोमबार राति १२ बजेदेखि सुरु हुँदै छ । निर्वाचन सुरु हुनुभन्दा ४८ घण्टा (तीन दिन) अगाडिदेखि उम्मेदवारले चुनावी प्रचारप्रसार गर्न नपाइने र मौन बस्नुपर्ने निर्वाचन आयोगको आचारसंहिता लागू हुने भएकाले त्यसअघि नै सामाजिक सञ्जालमा कन्टेन्ट बुस्ट (विज्ञापन) गर्ने क्रम ह्वात्तै बढेको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारहरूले गर्ने यस्तो प्रचारमा एकैदिन एउटै उम्मेदवारले ४६ वटासम्म कन्टेन्ट स्पोन्सर्ड (Sponsored) गरेका छन् । मेटा एड लाइब्रेरीको रिपोर्ट अनुसार ताप्लेजुङका एमाले उम्मेदवार क्षितिज थेबेले एकैदिन ४६ वटा कन्टेन्ट फेसबुकमार्फत स्पोन्सर्ड गरेका छन् । उनले ‘क्षितिज थेबे’ को नामबाट २० वटाका लागि ३६८ डलर र २६ वटाका लागि २७० डलर खर्चेर कन्टेन्ट बुस्ट गरेको मेटा एड लाइब्रेरीले देखाएको छ ।

उनले पछिल्लो एक सातामा ३८ वटा विज्ञापनका लागि ९०३ डलर र ‘क्षितिज थेवे जिताऔँ अभियान’ का लागि ५५ वटा विज्ञापनमा ८३७ डलर खर्च गरेका छन् । पछिल्लो एक सातामा सबैभन्दा बढी कन्टेन्ट बुस्ट गर्नेमा ‘डा. अजय क्रान्ति फलोअर्स’ देखिएको छ । यस पेजले एक सातामै १४५ वटा कन्टेन्ट बुस्ट गरेर ९०९ डलर खर्च गरेको छ ।

चुनावी सरगर्मी बढेसँगै राजनीतिक दल र उम्मेदवारहरूले सामाजिक सञ्जालबाट गर्ने प्रचारलाई तीव्र बनाएका हुन् । यसरी हुने प्रचारमध्ये पछिल्लो एक महिनामा मात्रै ‘डा. अजय क्रान्ति फलोअर्स’ बाट १९५ वटा विज्ञापनका लागि २२ सय ९४ डलर खर्च भएको देखिन्छ ।

त्यस्तै, पछिल्लो एक महिनामा फेसबुकबाट प्रचार गर्ने अन्य पेजहरूमा ‘देशको आशा’ बाट ११५ वटा, ‘निशा अधिकारी’ को नामबाट १९६ वटा, ‘कविर राणा समर्थ’ बाट १०० वटा, ‘विष्णुबहादुर खड्का जिताऔँ अभियान’ बाट ६३ वटा र ‘विश्वदीप पाण्डे’ बाट ७३ वटा कन्टेन्ट बुस्ट भएको मेटाको तथ्याङ्क छ ।
प्रतिनिधिसभाको चुनावी सरगर्मीसँगै राजनीतिक दल र उम्मेदवारहरू फेसबुकमा डलर खर्चेर प्रचार गर्न हौसिएका छन् ।

पछिल्लो समय फेसबुकमार्फत हुने यस्तो खर्च अस्वाभाविक रूपमै बढ्दै गएको तथ्याङ्कले पुष्टि गर्छ । चुनाव लक्षित गरी फेसबुकमा डलर खर्च गर्ने र व्यक्तिगत तथा राजनीतिक एजेन्डाको प्रचार गर्ने क्रम चुनावी माहोलसँगै बढेको हो । यही २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन लक्षित यस्तो फेसबुक विज्ञापनमा नेपाली रुपैयाँ मासिक लाखौँ खर्च भइरहेको छ ।

पछिल्लो एक महिनाको सामाजिक सञ्चालबाट भएको फेसबुक स्पोन्सर्ड एड

Explore by Source or Category