npl.977 Nepal News Stream

#विचार

Contents
News of Nepal logo News of Nepal

विज्ञान, स्वास्थ्य र संस्कृतिको संगम माघे सङ्क्रान्ति

न्युज अफ नेपाल 17 hours ago

नेपाली समाज बहुआयामिक संस्कार, परम्परा र धार्मिक चेतनाले समृद्ध समाज हो । ती संस्कारहरूमध्ये माघे सङ्क्रान्ति एउटा यस्तो पर्व हो, जसले धर्म, संस्कृति, प्रकृति, स्वास्थ्य र सामाजिक जीवनलाई एउटै सूत्रमा बाँध्छ । प्रत्येक वर्ष माघ महिनाको १ गते (प्रायः जनवरी १४ वा १५) माघे सङ्क्रान्ति केवल एक पर्व मात्र नभई सूर्यको गति परिवर्तनसँग जोडिएको जीवनदर्शन हो । सूर्यलाई जीवनको स्रोत, ऊर्जा, प्रकाश र चेतनाको प्रतीक मानिन्छ ।

यस दिन सूर्य मकर राशिमा प्रवेश गर्छन् र उत्तरायणको आरम्भ हुन्छ । दक्षिणायनलाई अन्धकार, जडता र निष्क्रियताको समय मानिन्छ भने उत्तरायणलाई प्रकाश, चेतना र सक्रियताको समय मानिन्छ । यही कारणले माघे सङ्क्रान्तिदेखि शुभ कार्य, धार्मिक अनुष्ठान, विवाह, व्रतबन्ध, गृहप्रवेशजस्ता संस्कार आरम्भ गर्ने परम्परा रहेको छ । हिन्दू धार्मिक मान्यताअनुसार माघे सङ्क्रान्ति पाप क्षय र पुण्य प्राप्तिको विशेष दिन हो । यस दिन गंगा, यमुना, कालीगण्डकी, कोशीजस्ता पवित्र नदी तथा तीर्थस्थलमा स्नान गर्दा आत्मशुद्धि हुने विश्वास गरिन्छ । स्नानपछि तील, चामल, अन्न, वस्त्र, घिउजस्ता वस्तुहरूको दान गर्नु अत्यन्त पुण्यदायी मानिन्छ । दान, स्नान र ध्यान माघे सङ्क्रान्तिका प्रमुख धार्मिक कर्म हुन् ।

शास्त्रमा भनिएको छ– माघे स्नानं महापुण्यं सर्वपाप प्रणाशनम् । यसले माघे सङ्क्रान्तिको धार्मिक गहिराइ स्पष्ट पार्छ । स्नानपछि गरिने तील, अन्न, वस्त्र, घिउ, चामल, पैसा आदिको दानले पुण्य प्राप्त हुने विश्वास हिन्दू धर्ममा रहेको छ । साथै, माघे सङ्क्रान्तिको धार्मिक महत्व महाभारतसँग पनि गहिरोरूपमा जोडिएको छ । भीष्म पितामह इच्छामृत्युको वरदान प्राप्त व्यक्ति थिए । उनी शरशय्यामा पल्टिएर उत्तरायणको प्रतीक्षा गर्दै बसेका थिए । सूर्य उत्तरायण प्रवेश गरेकै दिन उनले देहत्याग गरे । यस घटनाले माघे सङ्क्रान्तिलाई मोक्ष प्राप्तिको प्रतीक बनाएको छ । त्यसैले यस दिनलाई मृत्यु मात्र होइन, आत्मा मुक्तिको दिनका रूपमा पनि हेरिन्छ ।

माघे सङ्क्रान्ति केवल धार्मिक पर्व मात्र नभई वैज्ञानिक र आयुर्वेदिक दृष्टिले पनि अत्यन्त महत्वपूर्ण छ । माघ महिनामा चिसो अत्यधिक हुने भएकाले शरीर कमजोर हुने सम्भावना बढी हुन्छ । त्यसैले तील, घिउ, चाकु, सक्खर, तरुल, सख्खरखण्ड, खिचडीजस्ता तातो र ऊर्जा दिने परिकार खाने चलन विकास भएको हो । आयुर्वेदअनुसार तीलले शरीरलाई तातो राख्छ, पाचन शक्ति बढाउँछ र हड्डी बलियो बनाउँछ । घिउले स्मरणशक्ति र शरीरको प्रतिरोधात्मक क्षमता बढाउँछ । यसरी माघे सङ्क्रान्तिका परिकारहरू धर्मसँगै स्वास्थ्यसँग पनि गहिरोरूपमा जोडिएका छन् ।

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले माघे सङ्क्रान्ति विभिन्न समुदायले फरक–फरक नाम र शैलीमा मनाउँछन् । तर भावनात्मक सार एउटै हुन्छ– नयाँ शुरुवात, शुद्धता र एकता । थारू समुदायमा माघे सङ्क्रान्तिलाई माघी भनिन्छ । यो उनीहरूको नयाँ वर्ष हो । यस दिन परिवार प्रमुख चयन गर्ने, ऋण नवीकरण गर्ने र सामाजिक निर्णय गर्ने परम्परा छ । नेवार समुदायमा ‘घिउ–चाकु सन्हु’ का रूपमा मनाइन्छ । पहाडी समुदायमा तील, तरुल, चाकु खाने र नदीमा स्नान गर्ने चलन प्रचलित छ ।

माघे सङ्क्रान्ति सामाजिक मेलमिलापको पर्व पनि हो । परिवारका सदस्यहरू एकै ठाउँ भेला भई भोजन गर्ने, वृद्ध–वृद्धालाई सम्मान गर्ने र आपसी सद्भाव साटासाट गर्ने परम्परा रहेको छ । दानको संस्कृतिले समाजमा करुणा, सहानुभूति र मानवता विकास गर्छ । यस पर्वले मानिसलाई प्रकृतिको चक्र बुझ्न, समयको मूल्य चिन्न र आत्मचिन्तन गर्न प्रेरित गर्छ । अन्धकारबाट प्रकाशतर्फ, निराशाबाट आशातर्फ र जडताबाट गतिशीलतातर्फको यात्रा यही पर्वको मूल सन्देश हो ।

आधुनिक समाजमा जीवन व्यस्त, यान्त्रिक र भौतिकतामुखी बन्दै गएको छ । यस्तो अवस्थामा माघे सङ्क्रान्तिले मानिसलाई आत्मिक शान्ति, सामाजिक सम्बन्ध र प्रकृतिसँगको सम्बन्ध सम्झाउने अवसर दिन्छ । पर्वलाई केवल खानपान र बिदासँग सीमित नगरी यसको मूल्य र दर्शन बुझ्नु आजको आवश्यकता हो ।

निष्कर्षमा भन्नुपर्दा, माघे सङ्क्रान्ति हिन्दू धर्ममा सूर्य उपासना, आत्मशुद्धि, दान–पुण्य र मोक्षको प्रतीक पर्व हो । यसले धर्म, विज्ञान, स्वास्थ्य, समाज र संस्कृतिलाई एउटै सूत्रमा बाँधेको छ । यस पर्वले मानिसलाई शुद्ध जीवन, सकारात्मक सोच, सामाजिक सद्भाव र प्रकृतिप्रतिको सम्मानको सन्देश दिन्छ । त्यसैले माघे सङ्क्रान्ति केवल एउटा पर्व होइन, यो जीवनलाई उज्यालोतर्फ डो¥याउने दर्शन हो ।

News of Nepal logo News of Nepal

माघी : परम्परा, पहिचान र एकताको प्रतीक

न्युज अफ नेपाल 17 hours ago

नेपाल एउटा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश हो । यहाँ विशाल बहुजातिको जनसमूह बसोबास गर्दछ । अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रो साझा पहिचान हो । नेपाल एउटा बहुजातिक देश भएकोले यहाँ प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्व बोकेको मौलिक चाडपर्वहरु रहेका छन् ।

त्यस्तै तराईको प्रमुख आदिवासीको रुपमा प्रचीनकालदेखि प्रख्यात तराईको भूमिपुत्र थारू जाति पनि एक हो । यिनै थारू समुदायको अत्यन्तै महत्वपूर्ण, भव्य र मौलिक उत्सव माघी (माघ) अर्थात् माघे संक्रान्ति सम्पूर्ण थारू समाजको सामाजिक, सांस्कृतिक, आर्थिक तथा भावनात्मक जीवनसँग गहिरो रुपले जोडिएको पर्व हो । हरेक वर्ष माघ १ गते मनाइने यो पर्व थारू समुदायमा नयाँ वर्षको रुपमा मनाइन्छ ।

थारू परम्पराअनुसार माघ १ गतेलाई नयाँ वर्ष वा नयाँ शुभ चक्रको शुरुवात मानिन्छ । यस दिन थारू परिवार र समुदायले पुराना विवादहरु समाप्त गरी नयाँ उमंग, नयाँ आशा र नयाँ योजनासहित जीवनको शुरुवात गर्छन् । माघीको सबैभन्दा सुन्दर पक्ष भनेको सामुदायिक एकता हो ।

परदेशमा रहेका परिवारका सबै सदस्यहरु यो बेला घर फर्किन्छन् । गाउँ–समाजमा सामूहिक भोज, गीत, नाच, खेलकुद र शुभकामना आदानप्रदानले समुदायमा आपसी प्रेम र सद्भावना बढाउँछ । पुराना रिस, ईष्र्या, मनमुटानलाई माघीमा समाप्त गर्ने परम्पराले शान्तिपूर्ण चरित्रलाई झल्काउँछ । थारू समुदायको जीवनशैली प्रकृतिसँग अत्यन्त नजिक छ ।

वर्षभरि खेतीपाती, दक्षिणी भूभागको गर्मी, चिसो, जंगल, बिरुवा र सामुदायिक श्रमसँग जोडिएको थारू संस्कृतिमा वर्षको सबैभन्दा आरामदायी समय माघ महिनाको शुरुवातलाई मानिन्छ । यसै कारणले माघ १ गतेलाई नयाँ शुरुवात मान्दै माघी पर्व मनाउने परम्परा बसाइएको छ । यो पर्व थारूहरुको समूहवाद, आत्मनिर्भरता, श्रमपे्रम र समानता झल्काउने मौलिक सांस्कृतिक धरोहर पनि हो ।

थारू समुदायमा माघीको तयारी माघी शुरु हुनुभन्दा अगाडि नै हुन्छ । एक–दुई हप्ताअगाडिदेखि नै गाउँभरि चहलपहल शुरु हुन्छ । घर–आँगन सफा गर्ने, पीठो पिसाउने, तेल पेलाउने, जाँड–रक्सी बनाउने, विशेष परिकारका लागि आवश्यक सामग्रीहरु जुटाउने, मासुको व्यवस्थापन गर्नेजस्ता कार्यहरु शुरु गरिन्छ ।

यसले समुदायभित्र एक–अर्काप्रति सहयोगी भावना बनाउँछ । माघ १ गते थारू गाउँमा बिहानैदेखि उत्सवको चहलपहल फैलिन्छ । ढिकरी, घोघी, सिध्रा, सुँगुरको मासु, जाँड, रक्सी, अन्डीको बरिया, खरियाजस्ता परिकारहरु माघीका दिन बनाइने परिकारहरु हुन् । यी परिकार केवल खानाका वस्तु मात्र होइनन्, यिनीहरुको संस्कृति र पहिचानसँग पनि मजबुत एवं घनिष्ट सम्बन्ध छ ।

पुस महिनाको अन्तिमको रातभर डफ बजाउने ढमरु गीत र छोकरा, झुमरा नाच नाच्ने गरिन्छ । जब बिहान भालेको पहिलो प्रहर शुरु हुन्छ, त्यही बेला घरका साना–ठूला पुरुषहरु सबैजना सकेसम्म नदीको दोभानमा बाजागाजासहित नुहाउन जान्छन्, जसलाई माघ लाहान (नुहाउने दिन) भनिन्छ । यता महिलाहरु घरको काममा बढी व्यस्त हुनुपर्ने भएकोले सबभन्दा नजिक पर्ने कुवा, घाट वा खोलानालामा गएर नुहाउने गर्दछन् र खानेकुरा तयार गर्ने गर्दछन् । माघी पर्वको उपलक्ष्यमा नुहाइसकेपछि टीका लगाउने क्रम शुरु हुन्छ ।

यस क्रममा घरमूलीले पहिले आफूलाई टीका लगाइसकेपछि आफ्ना भाइ, छोरा, भतिजा, नाति र अन्य सबैलाई टीका लगाइदिने र साइनोअनुसारको आफूभन्दा ठूलाबडालाई ढोग्ने तथा सानालाई शुभ आशीर्वाद दिने गर्दछन् । नुहाइ–धुवाइ गरेर घरमा फर्केपछि घरका सबैजना पुरुषले सर्वप्रथम निश्राउ कहार्ने गर्दछन् । यसको लागि घरको एउटा कोठामा एउटा भाँडोमा चामल, नुन र मासको दाल राखिएको हुन्छ । यिनै चामल, नुन र मासलाई छु्ट्टाछुट्टै भाँडाहरुमा पाँच–पाँच अञ्जुली झिकेर राखिन्छ । यो प्रक्रियालाई निश्राउ कहर्ना (कोसेली छुट्याउनु) भनिन्छ ।

निश्राउ जति झिकेर राखेको छ त्यसैमा केही थपेर माघीको दोस्रो दिनमा आफ्ना दिदी–बहिनीहरुलाई दिन जाने गरिन्छ । निश्राउ कहर्ना सकेपछि घरको सबैभन्दा जेठो महिला वा पुरुषबाट शुरु गरी आफूभन्दा पाका सबैसँग सेवा ढोग लाग्ने र आशिष लिने गरिन्छ । आ–आफ्ना घरमा सेवा ढोग लागेर खानपिनपछि छरछिमेक तथा गाउँघरमा आफ्ना मान्यजनहरुसँग सेवा ढोग लागेर आशीर्वाद लिने र सानालाई आशीर्वाद दिनुका साथै माघी पर्वको खस्रा–मीठा परिकारहरु खाने गरिन्छ ।

पूर्व मेचीदेखि पश्चिम महिकालीसम्मका थारू जातिले आ–आफ्ना स्थान विशेषले फरक–फरक परिकारहरु खाने गर्दछन् । यस दिन सम्बन्ध बिग्रेको र बोलचाल बन्द भएकाहरुसँग गएर पनि ढोग्ने गरिन्छ । यसले खेतीपातीको क्रममा तथा अन्य बेला हुन गएका मनमुटाव तथा रिसइबी बिर्सी सहिष्णुता र सद्भावको पुनः स्थापना गर्न÷गराउन मद्दत गर्दछ । माघी पर्वको भोलिपल्ट माघीको दोस्रो दिन दाजुभाइहरुले आफ्ना दिदी–बहिनीहरुलाई निश्राउ (कोेिली) अनिवार्यरुपमा दिन जाने गर्दछन् । कोसेलीमा माघ १ गते छुट्याइएको चामल, नुन, दाल र विभिन्न मीठा परिकारहरु दिन जाने चलन रहेको छ ।

दाजुभाइले आफ्ना दिदी–बहिनीलाई सद्भावका साथ बर्सेनि दिने निश्राउको ठूलो महत्व रहेको छ । माघ २ गतेका दिन प्रत्येक दिदी–बहिनीले निश्राउ दिन आउने आफ्नो दाजु वा भाइको प्रतीक्षा व्यग्रताका साथ गरिरहन्छन् । यस दिन चेलीहरुले निश्राउ दिन आउने दाजुभाइको विशेष स्वागत र मीठा–मीठा परिकारहरु खान दिने गर्दछन् । यसले दाजुभाइ तथा दिदी–बहिनीबीचको सम्बन्धलाई अझ प्रगाढ र जीवन्त बनाउन मद्दत गर्दछ । यसबाट दाजुभाइले आफ्ना दिदी–बहिनीलाई आर्थिक सहयोग, माया–ममता र स्नेह गरेको कुरा प्रस्ट हुन्छ ।

माघी पर्वमा थारू समुदायको सामाजिक संरचना पुनर्गठित हुन्छ । बरघर, गुरुवा, चिरक्या, चौकिदारलगायत पदाधिकारीहरु समुदायले लोकतान्त्रिक तरिकाले छानेर वर्षभरिका सामाजिक काम, नियम र दायित्वहरु तोकिन्छ । यसले थारू समाजलाई स्वतन्त्र र व्यवस्थित ढंगले चलाउन मद्दत गर्दछ । माघीको दिन परिवारभित्र घरधन्दा, खेतबारी बाँडफाँड, किसन्वा, आर्थिक जिम्मेवारी, दम्पती तथा परिवारका समस्याहरु शान्तिपूर्ण वातावरणमा मिलाइन्छ । यसरी माघी पारिवारिक सद्भाव कामय गर्ने अवसर बन्छ ।

माघीको दिन विशेष गरी नाचगान, उत्सव र सांस्कृतिक कार्यक्रमले थारू समुदायमा माघीका रातहरु झन् रमाइला हुन्छन् । मघौटा जात, डफ्फा गीत, सामूहिक गीत–संगीतले माघीलाई उत्कृष्ट सांस्कृतिक पर्वका रुपमा मनाइन्छ । माघी पर्वले सामाजिक महत्व पनि राखेको छ । माघीले एउटै गाउँ वा टोलका सबैलाई एकै ठाउँमा ल्याई एकताको भावना बढाउँछ । थारू समुदायको इतिहास, सभ्यता र गर्वलाई उजागर गर्न महत्वपूर्ण र साझा पहिचान बोकेको छ माघीले । समुदायमा नयाँ वर्षको योजनासहित आर्थिक र सामाजिक नाचगान जोगाउन र नयाँ पुस्तामा हस्तान्तरण गर्न माघीले ठूलो योगदान दिन्छ ।

नेपाल सरकारले थारू समुदायको माघी पर्वलाई राष्ट्रिय पर्वको रुपमा मान्यता दिइसकेको छ । आज माघी केवल थारूहरुको मात्र नभई सम्पूर्ण देशको सांस्कृतिक विविधता झल्काउने उत्सवका रुपमा स्थापित भइसकेको छ । थरुहट तपाईंका विभिन्न जिल्ला तथा काठमाडौंको टुँडिखेलमा मेला महोत्सव आयोजना हुन्छन् । जसले पर्यटन, स्थानीय अर्थतन्त्र, संस्कृतिको प्रचारप्रसारलाई समेत बढाएको छ । माघी पर्व थारू समुदायको जीवन, संस्कृति र इतिहासको जगेर्ना हो । यो केवल पर्व होइन, जीवनशैली, पहिचान, एकता, संस्कृतिको अद्भुत संगम हो । थारू समुदायको भव्य माघी पर्वले नेपालभित्र विविधता, समृद्धि र सांस्कृतिक सौन्दर्यको सुन्दर उदाहरण प्रस्तुत गर्दछ ।

यसरी माघी पर्व थारू समुदायको केवल परम्परागत चाड मात्र नभई सामाजिक पुनर्गठन, पारिवारिक एकता, सामूहिक निर्णय र आत्मपहिचान तथा पुनर्जागरणको एक सशक्त संस्कार हो । यस पर्वले श्रम, समानता, सहिष्णुता र आपसी सद्भावजस्ता मूल्य–मान्यतालाई व्यवहारमा उतार्दै थारू समाजलाई अनुशासित, आत्मनिर्भर र लोकतान्त्रिक बनाउँदै आएको छ । नेपाल सरकारले माघीलाई राष्ट्रिय पर्वका रूपमा मान्यता दिनुले यसको महत्व झनै उचाइमा पुगेको छ । आज माघी थारू समुदायको गौरव मात्र नभई नेपालको सांस्कृतिक विविधता, सामाजिक समन्वय र राष्ट्रिय एकताको जीवन्त प्रतीकका रूपमा स्थापित भएको छ । बदलिँदो सामाजिक परिवेशमा माघी पर्वका मौलिक मूल्य, परम्परा र दर्शनलाई संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु राज्य, समाज र समुदाय सबैको साझा दायित्व हो । माघीले देखाउने एकता, मेलमिलाप र सामूहिक चेतनाको सन्देश आजको नेपाली समाजका लागि अझ सान्दर्भिक र प्रेरणादायी बनेको छ, बन्दै जानेछ ।

Explore by Source or Category