npl.977 Nepal News Stream

#विचार

Contents
News of Nepal logo News of Nepal

विविध अनुभवका धरोहर ज्येष्ठ नागरिक

न्युज अफ नेपाल 2 hours ago

नेपाल एक बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधता भरिएको सुन्दर समाज हो । यही समाजको एक अभिन्न अंगका रुपमा रहेका ज्येष्ठ नागरिक हाम्रो इतिहास, सभ्यता संस्कार र पहिचानका मूल जरा हुन् । उनीहरुले दशकौँसम्म परिवार, समाज र राष्ट्रका लागि श्रम, समय र ज्ञान दिएका छन् । आज उनीहरु उमेर बुढ्यौली अवस्थामा पुगे पनि सम्मान, सहयोग र सुरक्षा पाउनयोग्य पात्र हुन् । त्यसैले ज्येष्ठ नागरिकप्रति हाम्रो दायित्व भन्ने कुरा कानुनी वा सामाजिक कर्तव्य मात्र होइन, नैतिक मूल्यको पनि मूल आधारस्तम्भ हो ।

ज्येष्ठ नागरिक जीवनको अनुभव, संघर्षको कथा र ज्ञानका साझा भण्डार हुन् । उनीहरुले समाज निर्माणमा आफ्नो बलिदान, परिश्रम र समर्पणबाट योगदान दिएका हुन्छन् । उनीहरुका अनुभव नयाँ पुस्ताका लागि मार्गदर्शक बन्न सक्छन् । तर विडम्बना ! आजको बदलिँदो सामाजिक संरचनामा धेरैजसो ज्येष्ठ नागरिक शारीरिक, मानसिक, आर्थिक, सामाजिक तथा भावनात्मक चुनौतीहरुसँग जुधिरहेका छन् । आफ्नै परिवारबाट अपहेलित, बेवास्ता र उपेक्षा भोग्न बाध्य छन् । आफ्नै घरपरिवारभित्र भावनात्मक दूरीको सिकार भइरहेका छन् । आधुनिक जीवनशैली, विदेशप्रतिको आकर्षण, शहर–बजारप्रतिको मोह, सानो परिवारको अवधारणा, मोबाइल, प्रविधि र कामको व्यस्तताका कारण परिवारले समय दिन छोडेका छन् । अहिलेको पुस्तामा अभिभावकलाई सुन्ने, सम्मान गर्ने र सुझाव लिनेजस्ता व्यवहारमा कमी आउँदै जान थालेकोे छ । संयुक्त परिवार विघटन भई एकल परिवार बढ्दै जाँदा बूढाबूढी एक्लोपन र परित्यागमा परिरहेका छन् ।

आर्थिक निर्भरता र असुरक्षा पनि ज्येष्ठ नागरिकले भोग्नुपरिरहेको छ । उमेर बढ्दै गएपछि काम गर्ने क्षमता कम हुन्छ, जसले गर्दा उनीहरु आर्थिक रुपमा परिवारमा निर्भर बन्न्न बाध्य हुन्छन् र उनीहरु परिवारको बोझको रुपमा जीवन बिताउन बाध्य छन् । आर्थिक क्षमताको कमीले उनीहरुलाई परिवारले भारको रुपमा हेर्ने सोच पनि बढ्दै गएको छ । आफ्नो खर्चका लागि अरुको मुख ताक्नुपर्दा आत्मसम्मानमा चोट पुगेर अपहेलित महसुस हुनुपरेको छ । समाजका धेरै गतिविधि र निर्णय प्रक्रियामा युवा पुस्तालाई प्राथमिकता दिइन्छ तर ज्येष्ठ नागरिकसँग सुझाव वा अनुभव मागिँदैन । त्यसैले समाजिक मेलमिलापमा कमी आएपछि आफूलाई अलग्गिएको र गौण बनेको महसुस ज्येष्ठ नागरिकले गर्दै आएका छन् । कतिपय ज्येष्ठ नागरिकको स्वास्थ्य समस्याप्रति पनि बेवास्ता हुँदै आइरहेको छ । बुढ्यौलीमा स्वास्थ्य समस्या सामान्य कुरा भए पनि नियमित चेकजाँच, औषधि, पोषण र हेरचाहमा कमी देखिन्छ । कतिपय परिवारमा उनीहरुको रोगलाई सामान्य मानी गम्भीर रुपमा नलिने प्रवृत्ति छ । यति मात्र होइन, स्वास्थ्य संस्थामा ज्येष्ठ नागरिकमैत्री सेवा अभावले धेरै दुःख खेप्नुपरेको छ ।

आधुनिक जीवनशैली र सांस्कृतिक परिवर्तनले पनि ज्येष्ठ नागरिकको मूल्यलाई घटाएको छ । शहरमा बढ्दो आधुनिक जीवनशैलीले ज्येष्ठ नागरिकको अनुभवभन्दा प्रविधिलाई बढी प्राथमिकता दिन थालिएको छ । पारिवारिक विवाद वा सम्बन्धमा कमजोरीका कारण घरमा ज्येष्ठ नागरिकलाई हेरचाह गर्ने कोही नहुँदा उनीहरुलाई बोझ वा जिम्मेवारीको रुपमा गर्ने गलत प्रवृत्तिका कारण कतिपय ज्येष्ठ नागरिकहरु वृद्धाश्रममा बस्न बाध्य छन् । ज्येष्ठ नागरिक अधिकार र संरक्षणको कानुनी व्यवस्था भए पनि धेरैलाई अधिकारबारे जानकारी नहुँदा, परिवारले बेवास्ता गर्दा कानुनी सहायता तथा वृद्ध भत्ताजस्ता सुविधाबाट समेत वञ्चित छन् ।

ज्येष्ठ नागरिक कुनै पनि समाजको अनुभव, ज्ञान र जीवन यात्राका धनी पात्र हुन् । त्यसैले हरेक परिवारले ज्येष्ठ नागरिकलाई प्रेम र समय दिनुपर्छ । उनीहरुको स्वास्थ्य, दैनिक आवश्यकताहरु र भावनात्मक अवस्थालाई बुझ्नुपर्छ । कहिलेकाहीँ उनीहरुलाई केवल केही मिनेटको कुराकानी, साथ र सान्त्वनाले पनि ठूलो खुशी मिल्छ । उनीहरुको निर्णयलाई सम्मान गर्नु, घरका काममा आवश्यक सहयोग गर्नु र जीवनका कठिनाइमा साथ दिनु परिवारको प्रथम कर्तव्य हो । समाजले ज्येष्ठ नागरिकलाई समर्थन गर्ने वातावरण निर्माण गर्नुपर्छ । सार्वजनिक यातायातमा प्राथमिकता, अस्पतालमा सुविधा, सामाजिक कार्यक्रमहरुमा सहभागिता, मनोपरामर्श सेवा र मनोरञ्जनका अवसरहरु उपलब्ध गराउनुपर्छ । स्थानीय तहले ज्येष्ठ नागरिक परिचयपत्रका आधारमा सेवा–सुविधा सहज बनाउन, घर–घरमै स्वास्थ्य सेवा दिन र सामाजिक सुरक्षा भत्ता समयमै वितरण गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्छ । राज्यले ज्येष्ठ नागरिकको हक–अधिकारलाई कानुनी संरक्षण प्रदान गर्नुपर्छ । समाजमा बढ्दै गएको आर्थिक हिंसा, बेवास्ता, सम्पत्तिमाथि दुरुपयोग, भावनात्मक शोषणजस्ता समस्यालाई रोक्न कडा कानुन र प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । साथै स्वास्थ्य बिमा, उपचार खर्चमा छुट, निःशुल्क स्वास्थ्य जाँच, सुरक्षित बासस्थान, मनोवैज्ञानिक सहयोग, अपाङ्गता सेवाजस्ता सुविधाहरु सहजरुपमा विस्तार गर्न आवश्यक छ । हामीले ज्येष्ठ नागरिकलाई एक्लोपनबाट बचाउन प्रयास गर्नुपर्छ । उमेर बढ्दै जाँदा साथीभाइ हराउँदै जान्छन् । छोराछोरी, नातिनातिना आ–आफ्नै काममा व्यस्त हुन्छन् । जसले गर्दा ज्येष्ठ नागरिकको जीवन साँघुरिँदै जान थाल्छ । एक्लोपनले सताउन थाल्छ । यस अवस्थामा घर–परिवारसँगै बस्ने, रमाइला गतिविधि गराउने, पुराना सम्झनाहरु बाँड्न लगाउने तथा सामाजिक कार्यक्रमहरुमा सहभागी गराएर आफ्नो अमूल्य विचार व्यक्त गर्न लगाउने गर्नुपर्छ । उनीहरुलाई तपार्इं परिवारको लागि आवश्यक र अनिवार्य सदस्य हो भन्ने अनुभूति गराइदिनु नै सबैभन्दा ठूलो कर्तव्य हो ।
ज्येष्ठ नागरिक पूर्वज, मार्गदर्शक र राष्ट्रका निष्ठावान् योगदानकर्ता हुन् । उनीहरुप्रति कर्तव्य निभाउनु भनेको हाम्रो संस्कार, हाम्रो नैतिकता र मानवीयता हो । उनीहरुको सम्मान, हेरचाह, स्वास्थ्य, सुरक्षा र मनोबल जोगाउनु प्रत्येक परिवार र समाजको दायित्व हो । ज्येष्ठ नागरिकको बाचा, सिकाइ र कामले नै आजको समाज सम्भव भएको हो । त्यसैले उनीहरुको सम्मान सुरक्षा गर्नु केवल दायित्व मात्र होइन, कृतज्ञताको पनि अभिव्यक्ति हो । हामीले आज उनीहरुको हेरचाह ग¥यौँ भने भोलि हाम्रो पुस्ताले पनि हामीलाई यस्तै माया र प्रेम दिनेछन् । ज्येष्ठ नागरिकप्रति दायित्व पूरा गुर्न नै सभ्य समाजको चिनारी हो र हाम्रो भविष्यप्रति गरिएको लगानी पनि हो ।

ज्येष्ठ नागरिक हाम्रो इतिहासका साक्षी, संस्कारका संवाहक र समाज निर्माणका बलिया आधारस्तम्भ हुन् । आज हामी जुन समाजमा उभिएका छौँ, त्यसको जग उनीहरूको परिश्रम, त्याग र अनुभवबाट सिञ्चिएको हो । बदलिँदो सामाजिक संरचना, आधुनिक जीवनशैली र व्यस्तताले गर्दा आज उनीहरू सम्मानभन्दा उपेक्षा, साथभन्दा एक्लोपन र अधिकारभन्दा बेवास्ताको सिकार बन्न बाध्य छन् । ज्येष्ठ नागरिकप्रति दायित्व निर्वाह गर्नु कानुनी औपचारिकता मात्र होइन, हाम्रो नैतिकता, मानवीयता र कृतज्ञताको जीवन्त अभिव्यक्ति हो । उनीहरुलाई परिवारले प्रेम, समय र सहानुभूति दिनुपर्छ, समाजले सहभागिता र सम्मानको वातावरण बनाउनुपर्छ भने राज्यले चाहिँ अधिकार, सुरक्षा र सुविधा सुनिश्चित गर्नुपर्छ । ज्येष्ठ नागरिकलाई सम्मान र संरक्षण गर्नु भनेको आफ्नै संस्कार जोगाउनु, आफ्नै भविष्य सुरक्षित गर्नु र सभ्य समाजको पहिचान कायम गर्नु हो । आज हामीले उनीहरूलाई साथ दिँदा भोलि हाम्रो पुस्ताले पनि हामीलाई त्यही माया र सम्मान फर्काउनेछ भन्ने तथ्यलाई सबैले मनन गर्न जरुरी छ ।

News of Nepal logo News of Nepal

विगतको हालत र सँघारको चुनाव

न्युज अफ नेपाल 2 hours ago

नेपाली राजनीतिको रङ्गमञ्चमा मञ्चन भइरहेका दृश्यहरू कुनै विद्रूप नाटकभन्दा कम छैनन् । यहाँ विचारको खेती गरिँदैन, बरु स्वार्थको फसल काटिन्छ । सिद्धान्तको जगमा घर बनाइँदैन, बरु सत्ताको दाउपेचमा नैतिकताको चिहान खनिन्छ । पछिल्लो समय नेपाली राजनीतिमा ‘शत्रु’ र ‘मित्रु’ को परिभाषा बिहानीको घामसँगै फेरिने गरेको तथ्य हामी सबैका सामु छर्लङ्ग छ । अस्ति ‘टाउकाको मूल्य’ तोक्ने र ‘आतङ्ककारी’ को बिल्ला भिराउनेहरू हिजो एउटै सोफामा बसेर मखमली हाँसो साटासाट गरे । हिजो ‘प्रतिगमन’ को नाइके भनिएकाहरूसँगै मिलेर ‘गणतन्त्र जोगाउने’ कसम पनि खाइयो । यो विरोधाभासपूर्ण यात्राको सबैभन्दा बिझाउने पक्ष के हो भने, माथि नेताहरूले ‘चाटाचाट’ गरिरहँदा तल आम नागरिक र कार्यकर्ताहरू भने सामाजिक सञ्जालमा तिनै नेताका लागि ‘काटाकाट’ र गालीगलौजमा उत्रिएका छन् । के यो आधुनिक दासताको नयाँ रूप होइन ?

नेपाली राजनीतिको पछिल्लो दशकको सबैभन्दा ठूलो ‘प्रयोग’ नेकपाको गठन थियो । कम्युनिस्ट एकताको नाममा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको प्रेम यति प्रगाढ देखिन्थ्यो कि उनीहरूले आफूलाई ‘एउटै जेटका दुई पाइलट’ घोषणा गरे । उनीहरूले सार्वजनिक मञ्चबाटै स्वर्ग र नर्क पनि सँगै जाने बाचा गरे । कार्यकर्ता र सामान्य जनताले सोचे– अब देशमा स्थिर सरकार आयो । जनताले सुशासनको अनुभव गर्नेछन् । तर त्यो ‘स्वर्ग’ को बाचा जनताका लागि नभई, बालुवाटारको सुविधायुक्त कुर्सीका लागि मात्र रहेछ ! जब कुर्सी हल्लियो, तिनै पाइलटहरूले जहाजलाई नै दुर्घटनामा पारे । हिजो ‘मुटु’ साट्नेहरूले भोलिपल्टै एक–अर्काको ‘कलेजो’ निकाल्ने गरी गालीगलौज गरे । विडम्बना ! तिनै नेताका कार्यकर्ताहरू हिजो एकताको गीत गाउँदै अरूलाई निषेध गर्थे, आज फुटको ताली पिट्दै आफ्नै पूर्वसहयात्रीलाई सत्तोसराप गरिरहेका छन् ।

विगतको निर्वाचनमा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको चुनावी मोर्चाले त राजनीतिक नैतिकताको धज्जी नै उडाएको हो । जनयुद्धको समयमा एक–अर्काको रगत बगाउनेहरूले जब ‘हँसिया–हथौडा’ र ‘रुख’ चिह्नमा भोट साटासाट गरे, त्यहाँ विचारको औपचारिक अन्त्येष्टि भयो । शेरबहादुर देउवा र प्रचण्डको यो जुहारी देख्दा लाग्थ्यो–सत्ताका लागि जे पनि सम्भव छ । मतदाताले रुखमा छाप लगाउनुपर्ने ठाउँमा हँसिया–हथौडा रोज्नुपर्ने र हँसिया–हथौडा रोज्नेले रुख रोज्नुपर्ने बाध्यता लोकतन्त्रको मजाकबाहेक केही थिएन । फेरि, परिस्थिति फेरियो र ओली–देउवाको ‘मुटु साटासाट’ शुरु भयो । जुन ओलीलाई देउवाले ‘अधिनायकवादी’ देख्थे, तिनै ओलीसँग मिलेर उनी सत्ताको सुरक्षा कवचमा सुरक्षित रहेको ठाने । ओलीले देउवालाई हरेक तरिकाले च्यापेको दृश्य होस् वा देउवाले ओलीको कदममा मौन समर्थन जनाएको अवस्था, यसले के प्रमाणित गर्छ भने यिनका लागि जनता केवल भोट बैंक हुन् र कार्यकर्ता केवल नारा लगाउने यन्त्र ।

राजनीतिमा ‘विकल्प’ र ‘परिवर्तन’ को नारा दिएर उदाएका रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीको कथा झन् रोचक र रहस्यमयी रह्यो । हिजो टेलिभिजनको पर्दाबाट प्रणाली सुधार्ने र पुराना नेतालाई जेल हाल्ने गर्जन गर्ने रविलाई तिनै ओलीले काखी च्यापे, जसलाई उनी भ्रष्ट भन्दै सत्तोसराप गर्थे । ओली र रविको यो ‘लैलामजनु’ झैँ देखिने प्रेम कुनै निष्ठा वा एजेन्डाको जगमा उभिएको थिएन । प्रचण्डको सरकारमा रविलाई गृह र उपप्रधानमन्त्री बनाउन ओलीले नै दबाब दिएको र पछि विभिन्न सहकारी काण्डमा नाम मुछिँदा पनि ओली र प्रचण्ड दुवैले रविलाई ‘निर्दोष’ को प्रमाणपत्र बाँडेको दृश्यले ‘नयाँ’ र ‘पुराना’ बीचको अवैध साँठगाँठलाई नाङ्गेधार बनाउँछ । बालेन शाहलाई प्रेमपूर्वक तबला उपहार दिने ओलीको रणनीतिक उदारता होस् वा गगन थापा र रवि लामिछानेबीचको कहिले प्रशंसा त कहिले आक्रोशको सम्बन्ध– यी सबै सत्ताको अङ्कगणित मिलाउने गोटीहरू मात्र थिए ।

ओली र राजेन्द्र लिङ्देनबीच सधैँ हुँदै आएको चुनावी सहकार्य र मधेसी दलका नेताहरूलाई आफ्नो आवश्यकताअनुसार सबैले च्याप्ने प्रवृत्तिले नेपाली राजनीतिमा दक्षिणपन्थ र वामपन्थको लक्ष्मणरेखा मेटिएको छ । उपेन्द्र यादव हुन् वा महन्थ ठाकुर, सबैले आफ्नो अनुकूलतामा कहिले ‘क्रान्तिकारी’ त कहिले ‘यथास्थितिवादी’सँग सत्ताको साझेदारी गरेका छन् । अधिकारका नाममा आन्दोलन गर्ने तर सत्ताको गन्ध पाउनेबित्तिकै जोसँग पनि घाँटी जोड्ने प्रवृत्तिले मधेसका आम जनताले पटक–पटक धोका पाएका छन् । यी सबै पात्रहरू एउटै रङ्गमञ्चका कलाकार हुन्, जसको भूमिका निर्देशक अर्थात् ‘स्वार्थ’ ले चाहेअनुसार पलभरमै फेरिरहन्छ ।

यो सबै दृश्य देखिरहँदा सबैभन्दा दुःखद र लाजमर्दो पक्ष भनेको आम कार्यकर्ता र समर्थकहरूको व्यवहार हो । माथि नेताहरूले तारे होटलको भोजमा झुम्दै सम्झौता गरिरहँदा तल कार्यकर्ताहरू भने सामाजिक सञ्जालमा एउटा फोटो, एउटा ट्वीट वा एउटा भाषणको भरमा आफ्नो वर्षौंदेखिको छिमेकी र मित्रसँग सम्बन्ध बिगार्दै छन् । गालीगलौज, असहिष्णुता र निकृष्ट शब्दहरूको प्रयोग गरेर एक–अर्काको खेदो खन्नु नै अहिलेको ‘डिजिटल राजनीति’ बनेको छ । तपाईंले ‘भ्रष्ट’ भनेर गाली गरेको नेता भोलि तपाईंकै नेताको प्रिय पात्र बनेर मन्त्री बन्न सक्छ । तपाईंले ‘राष्ट्रघाती’ भनेर खेदो खनेको व्यक्ति अर्को हप्ता तपाईंकै पार्टीको गठबन्धनमा मुख्यमन्त्री वा राजदूत बन्न सक्छ । यस्तो अवस्थामा फरक–फरक व्यक्तिलाई लिएर तिनको प्रशंसा वा निन्दाका विषयमा सामाजिक सञ्जालमा झगडा गर्नुको कुनै ओैचित्य छैन ।

नेपाली राजनीतिमा कोही पनि अछुतो छैन । सबैले आफ्नो स्वार्थ मिल्दा ‘चाटाचाट’ र नमिल्दा ‘काटाकाट’ गरेका छन् । यिनका लागि देशको राष्ट्रियता, जनजीविका र युवा पलायनको मुद्दाभन्दा पनि आफ्नो र आफ्नो गुटको रक्षा महत्वपूर्ण छ । हिजो राजावादीसँग मिल्दा नहच्किने, हिजो विद्रोहीसँग हात मिलाउँदा नलजाउने र आज एक–अर्काको अघोषित ‘एजेन्ट’ बन्न तयार हुने नेताहरू सारमा एउटै हुन् । यिनीहरू एउटै सिन्डिकेटका सदस्य हुन्, जो पालैपालो कुर्सीमा बस्छन् र जनतालाई भ्रमको खेती गरेर अल्झाइरहन्छन् । जबसम्म आम नागरिकले यो यथार्थ बुझ्दैनन् र ‘मेरो नेताले जे गरे पनि ठीक’ भन्ने अन्धभक्तिबाट मुक्त हुँदैनन्, तबसम्म देशको अवस्थामा कुनै परिवर्तन आउने छैन ।

अन्ततः हामीले बुझ्न जरुरी छ कि नेताहरू मिल्दा ‘स्वार्थ’ मिल्छ, तर हामी कार्यकर्ता र नागरिक झगडा गर्दाचाहिँ ‘समाज’ बिग्रिन्छ । तपाईंले फेसबुकमा कसैलाई गाली गरेर तपाईंको नेताको कद बढ्ने होइन, बरु तपाईंको आफ्नै स्तरचाहिँ घट्न सक्छ । नेताहरू हिजो पनि सँगै थिए, आज पनि सँगै छन् र भोलि पनि स्वार्थ मिलेसम्म सँगै हुनेछन् । त्यसैले, कुनै नेताका पछाडि लागेर हामीले एक–अर्काको मानमर्दन गर्नुभन्दा, यिनको प्रवृत्तिलाई चिन्नु र प्रश्न गर्नु नै आजको आवश्यकता हो । अब सामाजिक सञ्जाललाई नेताको ‘साइबर सेना’ बन्ने माध्यम होइन, बरु नागरिक दबाब दिने र यिनका बेथितिलाई नङ्ग्याउने थलो बनाउनुपर्छ।

अहिलेसम्मको स्थिति हेर्दा, बाहिर जतिसुकै फरक रङ्गीन झन्डा बोके पनि सत्ताको लुछाचुँडीमा यी नेता सबै ‘एउटै सारका फरक स्वरूप’ देखिएका छन् ।
यति हुँदाहुँदै पनि चुनावको मुखमा यतिखेर फेरि अनेक थरीका आश्वासन, प्रतिबद्धता, घोषणा, भाषण गरिँदै छन् । मतदाताको ध्यान आफूतिर तान्नका लागि नेतागणबाट गर्न बाँकी केही पनि राखिएको छैन । नपत्याएर, ठाउँ–ठाउँमा मतदाताले पनि नेतालाई रन्थन्याउने प्रश्न गरेका छन् । तैपनि कसै न कसैलाई भोट दिनै परेको छ । कसै न कसैले जित्ने नै छन् । चुनावपछिका हाम्रा दिनदशा के–कस्ता हुने हुन् ? त्यसैले, यतिखेर बिउँझने पालो हामी जनताकै हो । किनभने पछि परिणाम भोग्ने पनि हामी नै हौँ ।

News of Nepal logo News of Nepal

अबको निर्णय मतदाताको

न्युज अफ नेपाल 2 hours ago

पर्सि बिहीबार हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचन केही महिनाअघिसम्म कतिपयका लागि अपेक्षित थिएन । गत भदौ २३ र २४ गते भएको नवपुस्ताको विद्रोहपछि फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने मुख्य दायित्वसहित अन्तरिम सरकार गठन गरेको महिनौं दिनपछि पनि प्रमुख राजनीतिक दलका कतिपय शीर्षस्थ नेताहरु यो निर्वाचनका लागि तयार थिएनन् । बरु विघटित प्रतिनिधिसभाको पुनस्र्थापना होस् भनी त्यसका अनेक कसरत पनि गरेका थिए । कतिपय दलहरुले बदलिएको परिस्थिति अनुरुप मनस्थिति तयार गर्दै त कतिपयले बाध्यात्मक स्थितिका बीच संशकित मनस्थितिले निर्वाचनलाई स्वीकार गर्दै जाँदा देश अहिले निर्वाचनको संघारमै आइपुगेको छ । अब पनि निर्वाचन हुन्छ कि हुँदैन भन्ने संशय दोहो¥याइरहनु जनमतलाई अन्योलमा राख्ने र लोकतान्त्रिक प्रक्रियाप्रति अविश्वास फैलाउने प्रयास मात्र हो । यो निर्वाचन त्यसै पनि महत्वपूर्ण किन छ भने, यसले देश परिवर्तन, सुशासन, पारदर्शिता र उत्तरदायित्वको पक्षमा उभिन्छ वा पुरानै किसिमको सत्ताकेन्द्रित राजनीतिक संस्कारलाई निरन्तरता दिनेछ भनी तत्कालका लागि छिनोफानो गर्नेछ । त्यसैले प्रत्येक मतदाताले विनादबाब र प्रभावबाट माथि उठेर सम्यकरुपमा चिन्तन–मनन गर्ने समय हो यो ।

जेनजी विद्रोह आकस्मिक आवेग होइन, यो देशमा बढ्दो कुशासन, संस्थागत भ्रष्टाचार र केही सीमित नेताहरूको सत्तालोलुप प्रवृत्तिविरुद्ध असन्तुष्टिको विस्फोट थियो । जब राज्य सञ्चालन जनहितभन्दा व्यक्ति केन्द्रित स्वार्थको माध्यम बन्छ, तब नयाँ पुस्ता प्रतिरोधमा उत्रिन्छ । यो इतिहासले देखाइसकेको तथ्य हो । बहुसंख्यक दलहरुले यस विद्रोहलाई शासकीय बेथितिविरुद्ध सुशासनको लागि भएको विद्रोहका रुपमा स्वीकार गर्दै आए पनि कतिले यसलाई देश जलाउने राष्ट्रघाती आन्दोलनको संज्ञासमेत दिएका छन् । यसबीचमा हुन लागेको यो निर्वाचन त्यसको व्याख्या र भाष्यलाई थप स्थापित गर्दै लाने निर्णायक विन्दु पनि हो ।

जेनजी विद्रोहको मर्म अनुरुप शासकीय संरचनालाई बलियो बनाउने र संविधान संशोधनको कार्य अघि बढाउनुपर्ने कार्य अझै बाँकी रहेको छ । यसले गर्दा जेनजीको मर्म अनुरुप मुलुक अघि बढ्ने हो वा त्यसको मर्ममाथि घात हुने हो भन्ने प्रश्नका हिसाबले पनि यो निर्वाचन मुख्य सरोकारको विषय बनेको छ ।

मुलक भ्रष्टाचारीको जालोमा फसेको र बहुसंख्यक जनता भोक, शोक र रोगमा बाँच्नुपर्ने अवस्थाले उकुसमुकुस भएपछि असन्तोषको विस्फोट भएको हो जेनजी विद्रोह । अनेक स्वाभाविक र अस्वाभाविक गठबन्धन गरी देशलाई भ्रष्टाचारको उच्च स्थानमा पु¥याउने दल र तिनका नेताहरुप्रति जेनजी विद्रोहमार्फत आक्रोश पोखिएको हो । देशलाई यस अवस्थामा पु¥याउनेमा लोकतान्त्रिक मूल्य विपरीत संसद्को पहिलो र दोस्रो दल मिलेर पालैपालो सरकारको नेतृत्व गर्ने दलहरु बढी जिम्मेवार छन् । भदौं २३ गते भएको शान्तिपूर्ण प्रदर्शनमा निहत्था युवा र बालबालिकामा गोली बर्साउँदा क्षमासमेत माग्न आवश्यक नठान्ने र उल्टै यो आन्दोलन देशद्रोहीको आन्दोलन भनी जिकिर गर्न संकोच नमान्नेहरु पनि छन् । यस अवस्थामा हुन लागेको यस निर्वाचनमा अब जनताले संशय होइन, भ्रममा होइन, स्वविवेकले निर्णय लिन आवश्यक छ । निर्वाचनको मौन अवधिमा हुन सक्ने पैसाको चलखेल, आश्वासन, लोभलालच, डरबाट माथि उठेर गर्ने मतदानले मात्र लोकतन्त्रलाई बलियो बनाउनेछ । देश जेनजी विद्रोहको मर्मअनुसार अघि बढ्छ कि फेरि त्यही बेथितिको चक्रमा फस्नेछ भन्ने कुरो यो निर्वाचनले तय गर्नेछ । निर्णय जनताको हो । परिणामले इतिहास लेख्नेछ । आफ्नो मतको सदुपयोग गरौँ ।

Explore by Source or Category