गोरखामा नयाँ समीकरण, प्रलोपाका नेताकार्यकर्ता प्रत्यक्षतर्फ कांग्रेसलाई मत माग्दै घरदैलोमा
गोरखा- यही फागुन २१ गते (बिहीबार) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा गोरखा जिल्लाका दुवै निर्वाचन क्षेत्रमा नयाँ राजनीतिक समीकरण देखिएको छ।
डा.बाबुराम भट्टराई निकट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गोरखाका दुवै क्षेत्रमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो।
यस निर्णयसँगै गोरखा क्षेत्र नं.२ मा कांग्रेसका प्रत्यक्ष उम्मेदवार प्रकाशचन्द्र दवाडीको पक्षमा प्रलोपा सम्बद्ध नेताकार्यकर्ताहरू सक्रिय रूपमा चुनावी प्रचार–प्रसारमा जुटेका छन्। घरदैलो कार्यक्रम, भेटघाट तथा टोलस्तरीय अन्तर्क्रियामार्फत मतदातासँग प्रत्यक्ष संवादलाई तीव्रता दिइएको छ।
प्रलोपाका समानुपातिक उम्मेदवार लालबहादुर विक, केन्द्रीय सदस्य यानप्रसाद भट्ट ‘सरोज’, अमृत आचार्य तथा जिल्ला अध्यक्ष नारायण खत्रीलगायतका नेताहरू क्षेत्र नं.२ का विभिन्न वडामा पुगेर दवाडीको पक्षमा मत मागिरहेका छन्। उनीहरूले साझा समझदारीअनुसार कांग्रेस उम्मेदवारलाई मतदान गर्न अपिल गरेका छन्।
दुवै पक्षका नेताहरूले राजनीतिक स्थिरता, विकास निर्माण र लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणका लागि सहकार्य आवश्यक रहेको बताएका छन्। ‘समृद्ध गोरखा निर्माणका लागि एकताबद्ध भएर अघि बढौँ’ भन्ने नारासहित अभियानलाई तीव्र बनाइएको जनाइएको छ।
मतदातालाई कुनै भ्रम वा अलमलमा नपरी साझा निर्णयअनुसार मतदान गर्न आग्रह गरिएको छ।
कांग्रेसलाई समर्थन गर्ने पार्टी निर्णयमा उभिन नेताकार्यकर्तालाई प्रलोपा गोरखाको आग्रह
गोरखा : स्थानीय तह आफूले पाउने सर्तमा प्रलोपाले सघाउने भो कांग्रेसलाई