npl.977 Nepal News Stream

#प्रमुख

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

फिल्मी शैलीमा लुटियो सिन्धुलीमा नेपाल एसविआई बैंक

बिमला पाण्डे 19 hours ago

सिन्धुली । घ्याङ्लेख गाउँपालिका वडा नं. २ बस्तीपुरमा रहेको नेपाल एसविआई बैंक घ्याङ्लेख शाखामा मंगलबार राती भएको लुटपाटमा संलग्न रहेका छ जनालाई प्रहरीले पक्राउ गरेको छ । अनुसन्धानमै रहेको भन्दै प्रहरीले पक्राउ पर्नेहरुको पहिचान खुलाउन चाहेको छैन ।

बैंक लुटपाटमा संलग्न छ जना पक्राउ

प्रहरीले मंगलबार राती र बुधबार दिनभर गरि बैंकबाट लुटिएको २ करोड ६८ लाख ५५ हजार १ सय ७५ रुपैंया रकम बरामद समेत गरेको छ । उक्त बैंकबाट करिब ३ करोड १० लाख ९५ हजार २ सय ८३ रुपैयाँ लुटपाट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले बताएका छन् ।

लुटिएको ४२ लाख ४० हजार १ सय ८ रुपैंया फेला पर्न सकेको छैन । मंगलबार राती स्थानीयको सहयोगमा प्रहरीले लुटेराहरूले बनेपाबाट रिजर्भ गरी प्रयोग गरेको विएडी ०३९८ नम्बरको टाढा सुमो र गाडी चालक भवत सिंह थापालाई नियन्त्रणमा लिएको थियो । गाडी घ्याङ्लेख गाउँपालिका वडा नं. १ टुनिभञ्ज्याङबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यस्तै घटनामा संलग्न रहेको आशंकामा बैंक रहेको घरका घरधनी छविलाल स्याङ्ताङलाई प्रहरीले महोत्तरीबाट पक्राउ गरि अनुसन्धानमा तानेको छ भने अन्य चारजनालाई स्थानीयको सहयोगमा घ्याङ्लेख गाउँपालिका वडा नं. १ सुकाचुरीबाट पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आशंका लागेका अन्य व्यक्तिहरुलाई पनि प्रहरीले सोधपुछ, अनुसन्धान तथा निगरानी गरिरहेको छ ।

मंगलबार राती करिब पौने ९ बजेतिर ७ जनाको समूह आई बैंकको गार्ड रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिई खुकुरी प्रहार गरी सामान्य घाइते बनाई बैंकका कर्मचारीहरूलाई समेत नियन्त्रणमा लिई बैंकको रकम लुटपाट भएको थियो ।

एसपी सुवेदीका अनुसार लुटपाट फिल्मी शैलीमा भएको छ । बनेपादेखि बैंक लुट्नकै लागि घ्याङ्लेख पुगेको देखिन्छ । बैंकमा कर्मचारीहरुलाई बाँधी लकरको साँचो खोलेर पैसा निकालेको पाईएको छ । खुकुरी चक्कु सहित आएका नकावधारी समूहले लुटेका पैसा भाग्ने क्रममा बोरा, बोरामा भेटिएका छन् । कतिपय पैसाहरु जंगलमा छरपस्ट छरिएको अवस्थामा भेटिएको छ । अनुसन्धानको लगभग अन्तिम चरणमा पुग्न लागिएकाले अनुसन्धान सकिएपछि बैंक लुटपाटको सन्दर्भमा देखिएका तथ्यको विस्तृत विवरण जानकारी गराउने एसपी सुबेदीले बताएका छन् ।

स्थानीयको लगाव र सहयोगका कारण अनुसन्धानमा प्रहरीलाई सहजता मिलेको उनले बताएका छन् । स्थानीयहरुले बैंकबाट लुटिएका पैसा खोज्न, बरामद गर्न र अभियुक्त पक्राउ गर्न स्थानीयहरुले प्रहरीलाई निरन्तर सहयोग गरेको उनले बताए ।

घटनाको रहस्य खुल्दै गएको र निश्कर्ष निस्कन लागेकाले निश्कर्ष सहित सार्वजनिक गरिने पनि उनले बताएका छन् । पक्राउ परेका छ जनालाई नै बुधबार थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याईएको छ । अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदी, डिएसपी सूर्यप्रकाश सुवेदी सहितको टोली खटिएको थियो ।

फरार रहेका लुटेराहरुको खोजी र घटनाको अनुसन्धान कार्य तिव्र भईरहेको सुवेदीले जानकारी दिएका छन् । प्रहरीले लुटेराहरुले छोडेको खुकुरी लगाएतका दसी प्रमाणहरु समेत बरामद गरेको छ । अनुसन्धान तथा लुटेराहरुको खोजी कार्यका लागि स्थानीय युवाहरु प्रहरीसँगै मंगलबार रातभर र बुधबार दिनभर जुटेका थिए ।

घटनामा प्रत्यक्ष संलग्नमध्ये २ जना मुख्य योजनाकार अझै फरार रहेको प्रहरीले जनाएको छ । स्थानीय संलग्नताका विषयमा समेत प्रहरीले अनुसन्धान थालेको छ ।

The post फिल्मी शैलीमा लुटियो सिन्धुलीमा नेपाल एसविआई बैंक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Explore by Source or Category