npl.977 Nepal News Stream

#प्रदेश-५

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

कपिलवस्तु–३ : बहुपक्षीय प्रतिस्पर्धाबीच विकास, पुस्तान्तरण र सामाजिक न्यायका एजेन्डा

सुशील गैरे 23 hours ago

कपिलवस्तु । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु क्षेत्र नम्बर ३ मा चुनावी सरगर्मी तीव्र बनेको छ । मतदान मिति आउन केहि दिन मात्र बाँकी रहँदा उम्मेदवारहरू गाउँ–बस्ती केन्द्रित अभियानमा सक्रिय छन् । घरदैलो, टोलसभा, अन्तरक्रिया र मतदाता भेटघाट कार्यक्रमले क्षेत्र राजनीतिक रूपमा तातेको छ ।

यस निर्वाचन क्षेत्रमा कुल ३६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । राजनीतिक दलका आधिकारिक उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवारहरूको उपस्थिति उल्लेख्य रहेकाले यसपटकको चुनाव बहुपक्षीय र रोचक बन्ने संकेत देखिएको छ । कुल १ लाख १८ हजार ४०४ मतदाता रहेको यस क्षेत्रमा मत विभाजन, विगतको मतान्तर र स्थानीय मुद्दाको प्रभाव निर्णायक बन्न सक्ने आकलन गरिएको छ ।

भूमि र कृषि केन्द्रमा एमालेको अभियान
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार वीरेन्द्र कुमार कनौडियाले आफ्नो चुनावी एजेन्डाको केन्द्रमा भूमि समस्या समाधान र कृषि आधुनिकीकरणलाई राखेका छन् । उनले आफ्नो उम्मेदवारी व्यक्तिगत पद प्राप्तिका लागि नभई दीर्घकालीन क्षेत्रीय विकासका लागि भएको बताएका छन् ।

उनका अनुसार सकुम्बासी व्यवस्थापनलाई वैज्ञानिक र कानुनी आधारमा टुंग्याउनु आवश्यक छ । वास्तविक भूमिहीनलाई लालपुर्जा उपलब्ध गराउने र व्यवस्थित बस्ती विकासमार्फत स्थायित्व दिने योजना उनले अघि सारेका छन् । भूमि व्यवस्थापनबिना समृद्धि सम्भव नहुने उनको भनाइ छ ।

कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउने लक्ष्यसहित सिँचाइ विस्तार, मल–बीउको सहज उपलब्धता, कृषि बिमा, भण्डारण केन्द्र स्थापना र बजार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको उनले बताएका छन् । परम्परागत खेती प्रणालीलाई प्रविधिमैत्री बनाउँदै उत्पादन वृद्धि र आयआर्जन बढाउने कार्यक्रम पनि उनले सार्वजनिक गरेका छन् ।

शिक्षा र स्वास्थ्यतर्फ गुणस्तरीय पठनपाठन, प्राविधिक शिक्षा विस्तार, सामुदायिक विद्यालय सुदृढीकरण, स्वच्छ खानेपानी र सहज स्वास्थ्य सेवा पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता उनले जनाएका छन् । सडक पूर्वाधार सुधार र खरको छाना मुक्त अभियानलाई निरन्तरता दिने उल्लेख गर्दै उनले युवालाई सीपमूलक तालिम र साना तथा मझौला उद्योगमार्फत रोजगारी सिर्जना गर्ने योजना अघि सारेका छन् ।

कनौडिया २०५८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा जलस्रोत राज्यमन्त्री भइसकेका छन् । उनले विगतका कामको सकारात्मक मूल्याङ्कन हुने विश्वास व्यक्त गरेका छन् ।

पुस्तान्तरण र परिणाममुखी राजनीतिको मुद्दा
नेपाली काँग्रेस का उम्मेदवार अभिषेक प्रताप शाहले यस निर्वाचनलाई नयाँ सोच र पुस्तान्तरणको अवसरका रूपमा प्रस्तुत गरेका छन् ।

उनले वर्तमान पुस्ताले परम्परागत राजनीतिक शैलीभन्दा पारदर्शिता, उत्तरदायित्व र परिणाममुखी कार्यशैली अपेक्षा गरेको उल्लेख गरेका छन् । सोही अपेक्षालाई सम्बोधन गर्न आफू चुनावी मैदानमा उत्रिएको उनको भनाइ छ ।

रोजगारी, पूर्वाधार विकास र आर्थिक सुदृढीकरणलाई प्राथमिकतामा राख्दै शाहले युवामैत्री कार्यक्रम आवश्यक रहेको बताएका छन् । विगतमा चुनाव पराजित भएपछि पनि तीन वर्षसम्म निरन्तर जनताबीच रहेर काम गरेको अनुभव उनले प्रस्तुत गरेका छन् ।

शाह २०६४ र २०७० सालमा मधेसी जनअधिकार फोरमबाट निर्वाचित भइसकेका छन् । यसपटक आफ्नो निरन्तर सक्रियता र स्थानीय सम्पर्कले मतदाताको समर्थन प्राप्त हुने विश्वास उनले व्यक्त गरेका छन् ।

सामाजिक न्याय र क्षेत्रीय विकासको बहस
राष्ट्रिय मुक्ति पार्टी (चकिया) का उम्मेदवार ईश्वर दयाल मिश्रले आफूलाई शोषित तथा पीडित समुदायको प्रतिनिधिको रूपमा प्रस्तुत गरेका छन् ।

उनी राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा चुनावी मैदानमा छन् । सामाजिक न्याय, सिँचाइ विस्तार र क्षेत्रीय पूर्वाधार विकासलाई उनले आफ्नो प्राथमिक एजेन्डा बनाएका छन् ।

जनतासँग प्रत्यक्ष सम्पर्क र विगतमा गरेका सामाजिक कार्यको आधारमा सकारात्मक मत प्राप्त हुने विश्वास उनले व्यक्त गरेका छन् । क्षेत्रको शान्ति, सद्भाव र अमनचयन कायम राख्ने प्रतिबद्धता पनि उनले जनाएका छन् ।

बेरोजगारी र पूर्वाधार योजनामा केन्द्रित एजेन्डा

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार एहसान अहमद खाँले बेरोजगारी र प्रशासनिक बेथितिलाई मुख्य मुद्दा बनाएका छन् ।

उनले नौमुरे सिँचाइ योजना सम्पन्न गर्ने तथा प्रदेशस्तरीय बाल तथा प्रसूती अस्पताल सञ्चालन गर्ने योजना अघि सारेका छन् । २०७९ सालमा लुम्बिनी प्रदेश सभा ३ (१) मा पराजित भएका खाँले यसपटक मतदाताले परिवर्तनको पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गरेका छन् ।

विगतको परिणाम र वर्तमान सन्दर्भ
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कपिलवस्तु–३ बाट एमालेका मङ्गलप्रसाद गुप्ता विजयी भएका थिए । उनले २२ हजार ६ सय १९ मत प्राप्त गरेका थिए भने निकट प्रतिस्पर्धी नेपाली काँग्रेसका अभिषेक प्रताप शाहले १८ हजार ९ सय ८२ मत ल्याएका थिए । करिब साढे तीन हजार मतान्तरले तय भएको उक्त परिणाम अहिलेको चुनावी विश्लेषणमा सन्दर्भ बन्दै आएको छ ।

यसपटक ३६ उम्मेदवार प्रतिस्पर्धामा रहेकाले मत विभाजनको सम्भावना उच्च देखिएको छ । बहुदलीय र बहुआयामिक प्रतिस्पर्धाले अन्तिम परिणामलाई प्रभाव पार्न सक्ने विश्लेषकहरूको भनाइ छ ।

कपिलवस्तु क्षेत्र नम्बर ३ मा यसपटकको निर्वाचन केवल दलगत प्रतिस्पर्धामा सीमित छैन । भूमि व्यवस्थापन, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना, सिँचाइ विस्तार, सामाजिक न्याय र पुस्तान्तरणजस्ता मुद्दाले चुनावी बहसलाई आकार दिइरहेका छन् ।

मतदाताले विकासको विश्वसनीय खाका, उम्मेदवारको विगतको कार्यसम्पादन र आगामी पाँच वर्षको दृष्टिकोणलाई कसरी मूल्याङ्कन गर्छन् भन्ने कुराले परिणाम निर्धारण गर्नेछ ।

अबको केही दिनमा हुने मतदानले यहाँको राजनीतिक प्रतिनिधित्व मात्र होइन, क्षेत्रको भावी विकास दिशालाई पनि स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

The post कपिलवस्तु–३ : बहुपक्षीय प्रतिस्पर्धाबीच विकास, पुस्तान्तरण र सामाजिक न्यायका एजेन्डा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Explore by Source or Category