npl.977 Nepal News Stream

#कला

Contents
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

भोलिदेखि चौधौँ ‘नेपाल अफ्रिका अन्तरराष्ट्रिय चलचित्र महोत्सव’

राजधानी समाचारदाता 6 hours ago

काठमाडौं । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन तथा विलक्षण क्रिएसन प्रालिको आयोजनामा ‘नेपाल अफ्रिका अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ को १४औँ संस्करण भोलिदेखि चार दिनसम्म काठमाडौँमा सञ्चालन गरिने भएको छ ।

चाबहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुने उक्त महोत्सवमा नेपालसहित २० देशका ४३ वटा चलचित्र प्रदर्शन गरिने महोत्सव निर्देशक डब्बु क्षेत्रीले जानकारी दिए । उनले भने, “महोत्सवमा नेपाली समूहअन्तर्गत करिब चार दर्जनभन्दा बढी चलचित्र, वृत्तचित्र र लघु चलचित्रमध्येबाट २० वटा छनोट भएका छन् । हामीले विश्वभरका चलचित्रकर्मीलाई भेला गरेर ज्ञान आदानप्रदान गर्ने मञ्च तयार गरेका छौँ । यसले हाम्रो चलचित्रलाई विश्वभरका चलचित्रकर्मीसँग परिचित गराउँछ ।”

उनले यसपटक विभिन्न देशका १० जना विदेशी चलचित्रकर्मीको सहभागिता रहने महोत्सवमा चलचित्र प्रदर्शनसँगै अन्तरक्रिया, नृत्य कार्यशाला, कला प्रदर्शनी र मास्टर क्लाससमेत सञ्चालन गरिने बताए । महोत्सवमा नेपाली चलचित्रतर्फ मिलन चाम्स निर्देशित ‘अञ्जिला’, सरोज पौडेल निर्देशित ‘कोशेढुङ्गा’, ऋषि लामिछाने निर्देशित ‘माग्ने राजा’, दीपकप्रसाद आचार्य निर्देशित ‘परान’ र नर प्रधान निर्देशित ‘यो मन त मेरो नेपाली हो’ छनोट भएका छन् । वृत्तचित्रतर्फ भीमलाल श्रेष्ठ निर्देशित ‘अरिंगाल म्यान’, रमेश खड्का निर्देशित ‘डान्सिङ इन फायर’ र निशा मानन्धर निर्देशित ‘अ बडी नट माइन्ड’ छनोट भएका छन् ।

नेपालबाहेक अफ्रिकी तथा अन्तरराष्ट्रिय समूहमा कथानक चलचित्रतर्फ बङ्गलादेशको ‘मेमोरी अफ ग्लुमी मनसुन’ र कोट डी आइभोरीको ‘साइलेन्स मोर्टेल’ प्रतिस्पर्धामा छन् । वृत्तचित्रतर्फ युक्रेनको ‘द स्केड्युल अफ फाइटिङ टु लर्न’, एष्टोनियाको ‘अटिस्ट अफ सर्भाइभल’ र जर्मनीको ‘गल्र्स डोन्ट प्ले स्पोट्र्स’ छनोट भएका छन् ।

अफ्रिकन चलचित्रतर्फ इजिप्टको ‘द मङ्की’, ट्युनिसियाको ‘मेट्रो पोलिस’ र मोरक्कोको ‘द चेम्बर’ अन्तिम प्रतिस्पर्धामा छन् । महोत्सवमा ‘सिनेमा, कल्चर एन्ड नेचर’ शीर्षकमा चार दिनसम्म चित्रकला प्रदर्शनी पनि हुने आयोजकले जनाएको छ ।

The post भोलिदेखि चौधौँ ‘नेपाल अफ्रिका अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

माघे सक्रान्तिमा ३ नेपाली चलचित्रबिच भिडन्त

राजधानी समाचारदाता 13 hours ago

काठमाडौं । माघे सक्रान्तिको अवसर पारेर आजबाट तीन वटा नेपाली चलचित्र रिलिज भएका छन् । यम शेर्पाको निर्देशनमा ‘मिरमिरे’, निगम श्रेष्ठको निर्देशनमा ‘भाइरल गोर्खे’ र मरीचमान श्रेष्ठ (बल्छी धुर्वे)को निर्देशन ‘गोवर गणेश’ रिलिज भएको हो ।

यी तीन चलचित्र मध्य निगम श्रेष्ठको निर्देशनमा ‘भाइरल गोर्खे’को मंगलबार बेलुका काठमाडौँमा प्रिमियर गरिएको थियो । तर चलचित्रले प्रिमियरमा त्यति राम्रो प्रशंसा पाउन सकेन । यसले मिश्रित प्रतिक्रिया पाएको थियो । सामाजिक सञ्जालमा भाइरल हुने बढ्दो क्रमलाई यो चलचित्रमा व्यंग्य गरिएको छ । जसमा सौगात मल्ल र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् । यो चलचित्रले करिब ६ दर्जन मात्र चलचित्र घर पाएको छ ।

माघे सक्रान्तिमा रिलिज भएको चलचित्रहरू मध्य अहिले ‘मिरमिरे’ चर्चामा छ । यो चलचित्रमा दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, साइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् । पारिवारिक कथावस्तुमा यो चलचित्र केन्द्रित रहेको छ ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’ सामाजिक विषयवस्तुमा आधारित रहेको छ । सोही कारण पनि यसले दर्शकको मन छुने विश्वास यसका निर्देशक यम शेर्पाको छ । यो चलचित्रले मुलुकका १०० भन्दा बढी चलचित्र घरमा सोहरू पाएको छ ।

मरीचमान श्रेष्ठ (बल्छी धुर्वे)को निर्देशन ‘गोवर गणेश’ले करिब पाँच दर्जन मात्र चलचित्र घर पाएको छ । यसमा मरीचमानसँगै अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका छ । यो चलचित्र हास्यव्यंग्य जनरामा निर्माण गरिएको छ । हास्य कलाकार मरीचमान आफैँ यसमा नायक बनेका छन् । उनलाई ठुलो पर्दामा दर्शकले नायकको रूपमा कत्तिको स्विकार्ने छन् भन्ने कौतुहलता अहिले धेरैलाई छ । उनी आफैँले पनि ठुलो पर्दामा नायक बन्नु ठुलो चुनौती भएको बताएका छन् ।

The post माघे सक्रान्तिमा ३ नेपाली चलचित्रबिच भिडन्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

काठमाडौँमा डल्बी एटमस ध्वनि मिश्रण प्रशिक्षण

राजधानी समाचारदाता 13 hours ago

काठमाडौं । नेपालमा एकपछि अर्को गर्दै मल्टिप्लेक्स चलचित्र घरहरू स्थापना भएसँगै यस्ता चलचित्र घरहरूमा अत्याधुनिक तथा अन्तर्राष्ट्रिय स्तरको डल्बी एटमस ध्वनि प्रणाली जडान गर्ने क्रम बढिएको छ । तर नेपाली चलचित्रमा डल्बी एटमस ध्वनि मिश्रणको अभावले चलचित्र घरमा यो प्रणालीको ध्वनि सही तरिकाले सुन्न पाइएको थिएन ।

यही समस्यालाई मध्यनजर राख्दै डल्बी एटमस ध्वनि मिश्रण तालिम सुरु गरिएको छ । चलचित्र विकास बोर्डको सहयोग एवम् सहकार्य र म्युजिक नेपालको आयोजनामा यो प्रशिक्षण बधुबारबाट काठमाडौँमा सुरु भएको हो । भिजुअल सोसाइटी अफ नेपालले प्रशिक्षणको व्यवस्थापन गरिरहेको छ । यो प्रशिक्षणमा एक दर्जन साउन्ड इन्जिनियरहरू सहभागी छन् ।

नेपाली चलचित्र क्षेत्रमा कार्यरत साउन्ड मिक्सिङ प्राविधिकहरूका लागि बुधवारबाट म्युजिक नेपालद्वारा स्थापना गरिएको डल्बी अडियो साउन्ड मिक्सिङ स्टुडियो ‘सगरमाथा’ मा यो प्रशिक्षण सुरु गरिएको आयोजक पक्षले जनायो । तालिम सञ्चालनका लागि भारतीय चलचित्र उद्योगका चर्चित तथा डल्बीबाट मान्यता प्राप्त साउन्ड इन्जिनियर भरत रेड्डी नेपाल आएका छन् ।

‘थ्री इडियट्स’, ‘सैयारा’, ‘पुष्पा’, ‘सितारे जमिन पर’, ‘थामा’, ‘धुरन्धर’ जस्ता थुप्रै सफल भारतीय चलचित्रमा साउन्ड मिक्सिङ इन्जिनियरका रूपमा भरत रेड्डीले काम गरिसकेका छन् । उनी डल्बीबाट मान्यता प्राप्त प्रशिक्षक भएकाले प्रशिक्षणमा ल्याइएको पनि कार्यक्रममा जानकारी गराइयो ।

बुधवार दिउँसो यो तालिम सुरु हुनुअघि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र बोर्ड सदस्य वीरेन्द्रप्रसाद भट्टले भारतीय प्राविधिक रेड्डीलाई कार्यक्रममा स्वागत गरेका थिए । सो अवसरमा अध्यक्ष डिसीले सहभागी प्राविधिकहरूलाई सक्रिय रूपमा ज्ञान आर्जन गर्न शुभकामना दिँदै यो तालिमले नेपाली चलचित्रको प्राविधिक गुणस्तरलाई विश्व स्तरमा पु¥याउने विश्वास व्यक्त गरे ।

डल्बीबाट मान्यता प्राप्त म्युजिक नेपालको यो स्टुडियो दक्षिण एसियामा रहेका सीमित १० वटा स्टुडियोमध्ये एक भएकोले त्यहाँ यो प्रशिक्षण थालिएको आयोजक पक्षले जनाएको छ । नेपालकै पहिलो डल्बी एटमस साउन्ड मिक्सिङ स्टुडियोले अब नेपाली चलचित्र तथा गीत संगीतका मिश्रणमा गुणस्तर ल्याउने विश्वास कार्यक्रममा व्यक्त गरियो । यो प्रशिक्षण सुरु भएको स्टुडियोलाई औपचारिक उद्घाटन भने दुई दिन पछि गरिने पनि कार्यक्रममा जानकारी गराइयो ।

The post काठमाडौँमा डल्बी एटमस ध्वनि मिश्रण प्रशिक्षण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

४५ दिनमा सकियो चलचित्र ‘हन्टर’को छायांकन

राजधानी समाचारदाता 13 hours ago

काठमाडौं । नेपाली चलचित्र ‘हन्टर’को छायांकन बुधवारबाट सकिएको छ । एक्सन ड्रामा जानराको चलचित्र ‘हन्टर’को पश्चिम नेपालका विभिन्न स्थानमा छायांकन सहित ४५ दिनमा इन्ड क्लाप गरिएको निर्माण पक्षले जनाएको छ ।

चलचित्र ‘हन्टर’लाई जीवन सिंहले निर्देशन गरेका छन् । यो चलचित्रमा अरुण क्षेत्री, प्रकाश शाह, गरिमा शर्मा, सरोज खनाल, रमेश बुढाथोकी, सुशील पोखरेल, रोशनी दाहाल, सोनी लगुन, गीता अधिकारी, रुजा राउत, सुप्रज्ञा शर्माको मुख्य भूमिका रहेको छ । कृष्ण थापाको डीओपी रहेको ‘हन्टर’मा शुक्रा शाहको द्वन्द्व निर्देशन, विक्रम स्वाँर र सञ्जय खिमजिमको कोरियोग्राफी रहेको छ ।

क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रमा सुदूरपश्चिमको कथा प्रस्तुत गरिने निर्देशक सिंहको भनाइ छ । ममता सिहं, गोविन्द राज रोक्का र राज ए भट्ट निर्माता रहेको चलचित्रमा मनीष चन्द सह–निर्माता छन् ।

The post ४५ दिनमा सकियो चलचित्र ‘हन्टर’को छायांकन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

अपराध बढाएको ठहर सहित हरियाणामा ६७ गीतमाथि प्रतिबन्ध

एजेन्सी 13 hours ago

नयाँ दिल्ली । भारतको हरियाणा राज्यमा गीत संगीतले विकृति ल्याउँदै हिंसा बढाएको दाबी सहित प्रहरीले ६७ वटा गीतमाथि प्रतिबन्ध लगाएको छ । केही समय यताबाट भारतको हरियाणामा पन्जाबी संस्कृति र गीत संगीतलाई नै विथोल्ने गरी हिंसा भड्काउने तथा अश्लील भावका गीतहरू निकाल्ने क्रम मौलाएको थियो । यस्ता गीतहरूले सामाजिक सञ्जालमा चाँडै भ्युज पाउनुका साथै राम्रो पैसा आर्जन हुने भएपछि हिंसा भड्काउने तथा अश्लील भावका गीतहरू बढेको प्रहरीको दाबी छ ।

गीत संगीतको प्रेरणाकै कारण बढ्दो गुन्डा संस्कृति र आजका युवाहरूमा हतियारको प्रयोग बढ्दै गएपछि आफूहरू यस्ता गीत संगीत विरुद्ध कडा कारबाहीमा उत्रनु परेको हरियाणा प्रहरीले बुधबार भारतीय सञ्चारकर्मीलाई जनाएको छ । आफूहरूले सामाजिक सञ्जाल र संगीत प्लेटफर्महरूबाट हिंसा, बन्दुक संस्कृति र अपराधलाई बढावा दिने ६७ गीतहरू हटाएको प्रहरीले जनाएको छ । प्रहरीको यो कदमबाट पन्जाबी मौलिक गीत संगीतका स्रष्टाहरू खुसी भएका छन् ।

हरियाणा प्रहरी महानिर्देशक (डीजीपी) अजय सिंघलले यो कारबाही सुरुवात मात्र भएको बताएका छन् । भविष्यमा यस्ता सामग्रीहरू विरुद्ध थप कडा कारबाही गरिने चेतावनी उनले दिएका छन् । बुधवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै डीजीपी सिंघलले समाज र युवाहरूको भविष्यमा असर पार्ने यस्ता गीत संगीतमाथि कुनै सम्झौता नहुने स्पष्ट पारे ।

सिंघलका अनुसार प्रहरी अनुसन्धानले धेरै गीतहरूमा गुन्डाहरूलाई नायकको रूपमा चित्रण गरिएको थियो । जसमा अपराधको जीवनलाई ग्ल्यामराइज गरिएको भन्दै समाजबाट यस्ता गीतहरूको व्यापक विरोध भइरहेको थियो । यसले युवाहरूमा नकारात्मक प्रभाव पारिरहेको थियो र धेरैलाई अपराधतर्फ आकर्षित गरिरहेको थियो । यसलाई नियन्त्रण गर्न हरियाणा प्रहरीको विशेष कार्यदल (एसटीएफ) र साइबर युनिटले संयुक्त रूपमा डिजिटल प्लेटफर्महरूको कडा निगरानी सुरु गरेको सिंघलले बताए ।

एसटीएफ र साइबर युनिटद्वारा संयुक्त अपरेसन गर्दा अनुसन्धानको क्रममा यस्ता धेरै गीतहरू भेटिए । जसले खुलेआम हतियारको महिमा गरेको थियो । यस्ता गीत संगीतले हिंसालाई सामान्य बनाउँदै गुन्डा जीवनशैलीलाई विलासी र शक्तिशालीको रूपमा चित्रण गरिरहेको थियो । यसपछि, प्रहरीले सम्बन्धित प्लेटफर्महरूसँग सम्पर्क गरेर यस्ता हिंसा बढाउने ६७ वटा आपत्तिजनक गीतहरू हटाउनुका साथै ब्लक गरेको हो ।

सो कारबाही पछि आयोजित पत्रकार सम्मेलनमा डीजीपी अजय सिंघलले भने, ‘यस्ता गीतहरूले अपराधीहरूलाई आदर्शको रूपमा चित्रण गर्छन्, जबकि वास्तविकतामा, अपराधले विनाश र पीडा मात्र निम्त्याउँछ । अपराधको मूल्य अपराधीहरूले मात्र नभई तिनीहरूका परिवारहरूले पनि चुकाउँछन् ।’

गीत संगीतले विगतमा धेरै आपराधिक कार्यलाई प्रोत्साहन गरेको उदाहरण दिँदै डीजीपी सिंघलले पत्रकार भेटघाटका क्रममा भने, ‘अबका दिनमा हरियाणाका कुनै पनि प्लेटफर्मले अपराध संस्कृतिलाई प्रवद्र्धन गर्ने सामग्री होस्ट गर्ने छैन । यदि यस्तो काम गरेमा हामी सम्बन्धित कलाकार, प्लेटफर्म र निर्माता सबैलाई कानुनी कारबाही गर्ने छौँ ।’

The post अपराध बढाएको ठहर सहित हरियाणामा ६७ गीतमाथि प्रतिबन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Explore by Source or Category