npl.977 Nepal News Stream

#अर्थ

Contents
NepalWatch logo NepalWatch

‘सीप र कला कुनै जातको हुँदैन’

Nepal Watch 4 hours ago

महोत्तरी– ‘सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व महसुस हुन्छ ।’ दमाहा बजाउँदै गरेकी बर्दिबास–३ पाटुकी निरु पौडेलले भनिन्, ‘सुरु सुरुमा कतिले कुरा काटे, बाहुनकी छोरीबुहारीले यो के गरेकी पनि भने, तर मैले आफ्नो काम छाडिन । यसमा नाम र दाम दुवै पाएकी छु ।’

पञ्चे बाजा समूहमा निरु मात्र होइन क्षत्री, तामाङ्, मगर, कामी, सार्की र दमाईँ समुदायका अन्य महिला पनि छन् । पुरुष, महिला वा यो जात त्यो जात भन्ने छैन । सीप र कला हो । यसमा पोख्त सबै मिलेर ‘समावेसी नौमती पञ्चे बाजा साँस्कृतिक समूह’ गठन गरी व्यवसायिक रुपमा बाजा बजाउँदै आएका छन् । ‘हाम्रो समूहमा जात र लिङ्गको कुरा हुँदैन, त्यसैले यसको नाम नै ‘समावेसी’ शब्दबाट सुरु गरेका हौँ,’ समूहका अध्यक्ष रमेश पौडेल खत्रीले भने, ‘यहाँ सीप र कलाको कुरा हुन्छ ।’

पाटु बस्तीका १५ जनाले सुरु गरेका यो समूहलाई मङ्सिर लागेयता फुर्सद छैन । ‘हामीलाई डाक्ने जतिलाई समय दिन भ्याएका छैनाँै, जम्मा १५ जना छौँ, एकै समयमा बाँडिएर दुई ठाउँसम्म भ्याएका छौँ’, अध्यक्ष खत्रीले भने, ‘कोही कुरा काट्ने पनि होलान्, तर हामीलाई त तिनका कुरा सुन्ने फुर्सदै पो छैन ।’ यो १५ जनाको समूहमा आठ जना महिला छन् ।

समूहमा भाले दमाहावादक सुभद्रा कार्की यो काम व्यवसायमात्र नभएर एउटा विद्रोह पनि भएको बताउँछिन् । ‘हाम्रो पारम्परिक समाजमा महिलाले यो गर्नु हँुदैन, यो काम त अमुक जातको हो भन्ने सोचले जरा गाडेको छ, यस्तो बेला हामीले ‘दमाहा’ समाएका छौँ, परम्परागत समाजमा यो विद्रोह पनि हो’, उनले भनिन्, ‘अब निरन्तर हामी काममा लागेपछि टिप्पणी गर्ने हराउँदै गएका छन्, हामी व्यवसायी बनेका छौँ ।’

समूहकी भीममाया क्याप्छाकी मगरले सहनाई बजाउन थालेपछि सबै दर्शक मुग्ध देखिन्छन् । ‘हैन, कस्तो राम्रो मिलेको यिनीहरुको सुरताल’, बर्दिबास–१ का स्थानीय भक्त भण्डारीले भनिन्, ‘यिनीको कामप्रतिको समर्पण र लगाव तारिफ योग्य छ ।’

केही महिना पहिलेमात्र समूह विधिवत बर्दिबास नगर कार्यपालिकाको कार्यालयमा दर्ता गराएका कलाकारले शुल्कमा पनि आफ्नो स्थानीयलाई विशेष छुट दिने गरेका छन् । बर्दिबास–३ मा आयोजना हुने समारोहमा दैनिक ४५ हजार, बर्दिबास नगरपालिकाका अन्य १३ वडामा ५५ हजार र बर्दिबास बाहिर जानुपरेमा ६५ हजार रुपैयाँ शुल्क तोकेका छन् ।

यो समूहमा आबद्ध भएदेखि घरायसी खर्चको जोहोका लागि कसैलाई गुहार्नु नपरेको झ्यालीवादक जानुका विकले बताइन् । मधेसका जिल्लाबाहेक कोशी प्रदेशको उदयपुर र बागमतीको सिन्धुलीका कैयन समारोहमा सरिक भइसकेको उनको भनाइ छ ।

NepalWatch logo NepalWatch

विदेशको लाख कमाइ छोडेर गाउँमै सस्तो बजार सञ्चालन

Nepal Watch 4 hours ago

कञ्चनपुर – वैदेशिक रोजगारीमा १६ वर्ष बिताएर स्वदेश फर्किएका बेदकोट नगरपालिका–१ सुडाका बसन्तराज भट्टले विदेशमा सिकेका सीप र अनुभवलाई उपयोग गर्दै गाउँमै व्यवसाय सुरु गरेका छन्।

उनले गाउँमै ‘आफ्नो बजार, सस्तोबजार’ नामक किराना तथा दैनिक उपभोग्य सामग्री पसल सञ्चालन गर्न थालेका छन्। कुवेतमा वर्षौंसम्म पसल तथा आपूर्ति व्यवस्थापनसँग सम्बन्धित काम गरेका भट्टले त्यही अनुभवलाई आधार बनाएर गाउँमै गुणस्तरीय सेवा दिने उद्देश्यले व्यवसाय सुरु गरेका छन्।

विदेशबाट फर्केर केही उत्पादनमूलक काम गर्ने लक्ष्य रहेको बताएका भट्टले स्वदेशमै दिगो जीविकाको सम्भावना देखेपछि व्यवसायमा हात हालेका छन्।

भट्टले करिब १० लाख रुपैयाँ लगानी गरी घरैमा आधुनिक शैलीको किराना पसल स्थापना गरेका छन्। स्थानीय ग्राहकलाई दैनिक उपभोग्य सामग्रीदेखि तरकारीसम्म एकै स्थानमा सहजै उपलब्ध गराउने उद्देश्यले उनले पसल सञ्चालन गरेका छन्।

‘कुवेतमा काम गर्दा पसलमा सामान कसरी सजाउने, कसरी मूल्य निर्धारण गर्ने, हिसाब–किताब गर्ने, ग्राहकसँग कसरी व्यवहार गर्ने भन्ने सबै सीप त्यहीँ सिकेँ,’ भट्टले भने, ‘अब त्यही सीप प्रयोग गरी व्यवसाय सुरु गरेको छु।’

भट्टको पसलले छोटो समयमै स्थानीय ग्राहकको ध्यान तान्न सफल भएको छ। ग्राहकअनुकूल मूल्य, गुणस्तरीय सामान र छरितो सेवाले उनको पसल आकर्षक बनेको छ। ‘थोरै नाफा राखेर सामान बेच्ने गर्छु, ग्राहकको मागका आधारमा आवश्यक वस्तु मात्र राख्छु,’ भट्टले भने, ‘गुणस्तर राम्रो भएकाले अहिलेसम्म कुनै गुनासो आएको छैन, उल्टै ग्राहकको विश्वास बढ्दै गएको छ।’

पसलमा तरकारी, फलफूल, ड्राइफ्रुट्स, मसला, चामल, दाल, चिनी, गेडागुडी, तेल, भान्छाका सामग्री, मिठाई तथा दैनिक घरायसी सामान उपलब्ध छन्। एउटै छानामुनि आवश्यक वस्तु पाइने भएकाले स्थानीयहरू भट्टको सस्तोबजारमा आकर्षित भएका छन्।

हाल उनको पसलमा दैनिक १० हजारदेखि १५ हजार रुपैयाँसम्मको बिक्री हुन्छ। यसबाट दुई हजारदेखि तीन हजार रुपैयाँ बराबरको नाफा हुने गरेको उनले बताए।

‘बढी मार्जिन राखेर सामान बेचे नाफा बढी हुन्थ्यो,’ उनले भने, ‘थोरै मार्जिन राखेर ग्राहकलाई गाउँकै बजारबाट सबै सामान उपलब्ध गराउने सामाजिक सेवा भाव राखेर व्यवसायलाई अगाडि बढाउँदै आएको छु।’

विदेशमा उनको कमाइ महिनामा एक लाख रुपैयाँको हाराहारीमा थियो। तर परिवारबाट टाढा रहनुपरेकोले गाउँमै केही गर्ने सोचले पसल सुरु गरेको उनको भनाइ छ।

लामो समय विदेशमा बस्दा परिवारसँग समय बिताउन नपाउँदा खिन्नता भएको भट्टले अहिले आफ्नै पसलमा काम गर्दै परिवारसँग बस्न पाएकोमा खुसी व्यक्त गरे।

पसलमा श्रीमती र परिवारका सदस्यले पनि सहयोग गर्दै आएका छन्। ‘स्वदेशमै बसेर इमान्दारीका साथ व्यापार गर्दा राम्रो कमाइ हुन्छ भन्ने अहिले महसुस भएको छ,’ भट्टले भने, ‘अब बजारलाई विस्तार गर्ने, ग्राहक सेवा सुधार्ने, ग्राहकको अनलाइन अर्डरअनुसार घरमै सामान पुर्‍याउने र आधुनिक बिलिङ प्रणाली ल्याउने योजनामा छु।’ रासस

NepalWatch logo NepalWatch

आजको विनिमय दर, कति पुग्यो अमेरिकी डलरको मूल्य ?

Nepal Watch 6 hours ago

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८८ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ २२ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६५ पैसा, सिंगापुर डलर एकको खरिददर ११० रुपैयाँ २० पैसा र बिक्रीदर ११० रुपैयाँ ६७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १५ पैसा र बिक्रीदर नौ रुपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ १९ पैसा र बिक्रीदर २० रुपैयाँ २७ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३८ रुपैयाँ २४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ २० पैसा र बिक्रीदर ३९ रुपैयाँ ३६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ४५ पैसा र बिक्रीदर चार रुपैयाँ ४७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०५ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७३ पैसा र बिक्रीदर नौ रुपैयाँ ७७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ११ पैसा र बिक्रीदर १५ रुपैयाँ १८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ १८ पैसा र बिक्रीदर २२ रुपैयाँ २७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८ रुपैयाँ ४२ पैसा, कुवेती दिनार एकको खरिददर ४६५ रुपैयाँ ४० पैसा र बिक्रीदर ४६७ रुपैयाँ ३५ पैसा, बहराइन दिनार एकको खरिददर ३७८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३८० रुपैयाँ ४८ पैसा , ओमनी रियाल एकको खरिददर ३७१ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७३ रुपैयाँ ०६ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

स्वदेशी लगानीमै बन्ने भयो अपर अरुण

पूर्णभक्त दुवाल 8 hours ago

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको अगुवाइमा संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजना स्वदेशी लगानीमा बन्ने भएको छ ।

एनआरएन र वैदेशिक रोजगारीकाले पनि सेयर पाउने

विवाद र विदेशी लगानीका कारण चासो र प्रतीक्षामा रहेको बहुप्रतिक्षित अरुणमा १२ अर्ब ९५ करोड रुपैयाँबराबरको सेयर गैरआवासीय नेपाली (एनआरएन) र वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गर्ने प्रस्ताव गरिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङका अनुसार आयोजनाको सेयर संरचना स्वदेशी लगानीलाई नै आधार बनाइएको छ ।

उनले भने, ‘विदेशमा रहेका नेपाली, एनआरएन, स्थानीय तथा सर्वसाधारण सबैलाई सहभागी गराएर अपर अरुणलाई जनताको आयोजनाका रूपमा विकास गरिँदै छ, वित्तीय व्यवस्थापन सकेसम्म छिटो सकेर निर्माण चरणमा लैजाने हाम्रो लक्ष्य हो ।’

अपर अरुणलाई स्वदेशी पुँजीबाटै अघि बढाउने मोडेलले नेपालको ऊर्जा क्षेत्रमा सबैभन्दा ठूलो आन्तरिक वित्तीय जुटाइको उदाहरण बन्ने अपेक्षा गरिएको छ ।

आयोजनाको लागत निर्माण अवधिको ब्याजबाहेक १ अर्ब ५१ करोड २७ लाख अमेरिकी डलर हुने अनुमान गरी आयोजनाको वित्तीय विश्लेषण र वित्तीय ढाँचा तयार गरिएको छ । लागतलाई हाल प्रचलित विनिमयदर प्रतिअमेरिकी डलर १ सय ४१ रुपैयाँका दरले रुपान्तरण गर्दा निर्माण अवधिको ब्याजबाहेक कुल लागत २ खर्ब १३ अर्ब २९ करोड रुपैयाँ हुन्छ ।

आयोजनाको निर्माण अवधिको ब्याजसहित २ खर्ब ३९ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । जसमा स्वपुँजी (इक्विटी) ३० प्रतिशत अर्थात् ७१ अर्ब ९४ करोड रुपैयाँ रहनेछ । कुल लागतको ३० प्रतिशत अर्थात् १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ रहनेगरी वित्तीय व्यवस्थापनको प्रस्ताव गरिएको छ । आयोजनाको निर्माण अवधि ७ वर्ष रहने र त्यस अवधिको वार्षिक ब्याजदर ७ प्रतिशत रहने अनुमान गरिएको छ ।

२ खर्ब ४० अर्बबराबरको लागत अनुमान
अपर अरुणको वित्तीय विश्लेषणअनुसार आयोजना निर्माणमा १ अर्ब ५१ करोड २७ लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । यस रकमलाई प्रतिडलर १ सय ४१ रुपैयाँका दरले रुपान्तरण गर्दा २ खर्ब १३ अर्ब २९ करोड रुपैयाँबराबर हुन्छ । निर्माण अवधिको ब्याजसहित कुल लागत २ खर्ब ३९ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ ।

यसअनुसार ३० प्रतिशत अर्थात् ७१ अर्ब ९४ करोड रुपैयाँ स्वपुँजी (इक्विटी), ७० प्रतिशत अर्थात् १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ आन्तरिक ऋणबाट व्यवस्था गरिने प्रस्ताव छ । आयोजना निर्माण अवधि ७ वर्ष रहने र यस अवधिमा वार्षिक ७ प्रतिशत ब्याजदर लागू हुने अनुमान गरिएको छ । सेयरमध्ये ७ अर्ब १९ करोड रुपैयाँबराबरको सेयर आयोजना प्रभावित क्षेत्र तथा संखुवासभा जिल्लाका बासिन्दाले पाउनेछन् ।

१२ अर्ब ९५ करोड रुपैयाँबराबरको सेयर देशभरका सर्वसाधारणले पाउनेछन् । त्यसैगरी १ अर्ब ४४ करोड रुपैयाँ पिछडिएको क्षेत्रका जनताका लागि सुरक्षित गरिएको छ । ७१ करोड ९४ लाख रुपैयाँ प्रवर्धक निकायका कर्मचारीले पाउनेछन् । ऊर्जा मन्त्रालयका अनुसार कुल साधारण सेयर ४९ प्रतिशतबाट रकम संकलन गरिनेछ ।

यससँगै ५१ प्रतिशत संस्थापक सेयर संस्थापक समूहबाट उठाइनेछ, जसमा प्राधिकरण अग्रसर रहने मोडालिटी तयार भएको छ ।

आयोजनाको प्रवर्धक अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले तयार पारेको वित्तीय संरचनाअनुसार कुल इक्विटीको ४९ प्रतिशत साधारण सेयर निष्कासन गरिनेछ । यसमध्ये १२ अर्ब ९५ करोड रुपैयाँ एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले पाउनेछन् ।

प्राधिकरणकै अग्रसरतामा बन्ने
आयोजनामा लगानी हुने इक्विटीको ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सेयर साधारण सेयर निष्कासन गरी रकम संकलनको प्रस्ताव गरिएको छ । संस्थापनबाट ३६ अर्ब ६९ करोड र साधारण सेयर निष्कासनबाट ३५ करोड २५ लाख रुपैयाँ लगानी हुनेछ ।

कसलाई कति सेयर ?
४९ प्रतिशत साधारण सेयरमध्ये १८ प्रतिशत एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको छ । त्यस्तै, ७ अर्ब १९ करोड (१० प्रतिशत) आयोजना प्रभावित क्षेत्र तथा संखुवासभा जिल्लावासीलाई, १२ अर्ब ९५ करोड (१८ प्रतिशत) रुपैयाँ देशभरका सर्वसाधारणलाई, १ अर्ब ४४ करोड (२ प्रतिशत) पिछडिएको क्षेत्र र ७१ करोड ९४ लाख प्रवर्धक निकायका कर्मचारीलाई छुट्याइएको छ ।

आयोजनाको प्रवर्धक कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत संस्थापक सेयर अर्थात् २९ अर्ब ४९ करोड रुपैयाँको लगानी रहनेछ ।

१ अर्ब ४४ करोड (२ प्रतिशत)का दरले प्राधिकरणका सहायक कम्पनी, कर्मचारी सञ्चय कोष, बिमा तथा पुनर्बिमा कम्पनीको हुनेछ । नेपाल टेलिकम, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, एचआईडीसीएल, प्रदेश एवं स्थानीय सरकारलाई ३५ करोड ९७ लाख रुपैयाँका दरले संस्थापक सेयर हुनेछ ।

आयोजना सम्पन्न गर्न आवश्यक १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ ऋण सरकारबाट नलिई आन्तरिक स्रोत र मिश्रित लगानीबाटै जुटाइनेछ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार मिश्रित लगानी प्रणालीले लागत कम गर्ने, लगानी जोखिम घटाउने, आन्तरिक पुँजीको उच्चतम उपयोग बढाउनेमा सहयोग पु¥याउनेछ ।

पहिलो वर्षमै २८ अर्ब आम्दानी हुने
अपर अरुणबाट वार्षिक ४ अर्ब ५३ करोड युनिट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । व्यावसायिक उत्पादन सुरु भएको पहिलो वर्षमै २७ अर्ब ९० करोड आम्दानी हुनेछ । ८ वर्षसम्म वार्षिक ३ प्रतिशत मूल्यवृद्धि हुँदा दीर्घकालीन आम्दानी ३४ अर्ब ५९ करोड रुपैयाँ पुग्ने प्रक्षेपण छ ।

सुरुवाती औसत विद्युत् खरिद सम्झौतादर प्रतियुनिट ६.३ रुपैयाँ राखिएको छ । ३ प्रतिशत वार्षिक वृद्धिसँग आयोजनाभरि औसत दर ७.८ रुपैयाँ हुनेछ ।

The post स्वदेशी लगानीमै बन्ने भयो अपर अरुण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Explore by Source or Category