npl.977 Nepal News Stream

Herne Katha logo

Herne Katha

Stories of People

Contents

EP150 Tusa ko Katha

हेर्ने कथा 4 months ago

माछापुच्छ्रे हिमालफेदिका घना जङ्गलहरु वर्षायामको ४० दिन टुसा टिप्नेहरुका लागि खुल्ला हुन्छ । भिराला निगालाघारीमा भालु र जुकासँग लड्दै टुसा खोज्न जानेहरु मध्यरातमै जाग्छन् । 

 

टुसाको कथा

 

माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ मा पर्ने प्रुन्धु (Prundhu) गाउँमा अघिल्लो साँझ पुगेका हामी, राति २ बजे नै तयार हुन थाल्यौं । मूख्य डर जुकाको थियो । शरिरभरि स्यानिटाइजर र डिटोल दल्यौं । 

 

 हामीसँगै टुसा खोज्न जाने सुशिल जंग क्षेत्री आइसकेका थिए । 

 

घरबेटी भाइले जुकासँग लड्ने हतियार तयार पारिदिए – टालोमा पोको पारेको नुन । 

 

सुशिलले साथीहरुलाई बोलाउँदै हिँडे । अलिबेर ठाडो उकालो चढेपछि काल्था डाँडामा मानबहादुर अधिकारीको घर भेटियो । साथीहरुले मायाले बोलाउने नाम मनु । 

 

अँध्यारामा जुनकिरीले झैं टिलपिल टिलपिल मोबाइल बालेर हामी उकालो लागिरह्यौं । चौतारो भेटियो । यहाँबाट जङ्गल सुरु हुन्छ । 

 

जुकाहरु सल्बलाउन थालिसकेका थिए । 

 

अँध्यारोमा एक घन्टा झाडी र जङ्गल छिचोल्दै हिँडेपछि मिर्कुम् खर्क आइपुग्यो ।  झिसमिसे हुन लागेको थियो । 

 

देवी श्रेष्ठको गोठमा चिया खाएर हामी अघि लाग्यौं । 

 

दश पढेर मलेसिया हानिएका मनु, गाउँमै पर्यटक ल्याउने सपना देखेर फर्किएका थिए । कोरोनापछि भनेजस्तो भएन । मनुले हरेश खाएका छैनन् । घुमन्तेहरुलाई पर्खिरहेका यहाँका डाँडाकाँडामा मानबहादुर र साथीहरु रमाइरहेका छन् । 

 

केही बेर जङ्गल छिचोलेपछि नमर्चे खर्क भेटियो । खर्कको गोठमा भेटिए कुलबहादुर लामिछाने । हामीले मामाको साइनो लगायौं । 

 

अलाङ्गे झरनाछेउ केही बेर थकाइ मारेपछि मनु र सुशिल टुसा खोज्न निगाला घारितिर छिरे । 

 

हामीभन्दा पनि अगाडि मध्यरातमै हिँडेर टाढा जङ्गलतिर गएको अर्को टोली पनि टुसाको भारि बोकेर फर्कियो । 

 

बाटोमा एउटा गोठमा ७७ वर्षका रत्नकुमार श्रेष्ठ भेटिए । 

 

झरी छल्न हामीले कुलबहादुरको गोठमा एकैछिन थकाइ मार्यौं । 

 

अगाडि लागिसकेको टोलीले गाउँमाथिको चौतारीमा भारी बिसाएर टुसाको मुठा बनाउन थाल्यो । 

 

गाउँको एउटा घरमा सबैले बटुलेर ल्याएका टुसाका मुठाहरु जम्मा भयो । अब यी टुसाहरु बजार जान तयार छन् ।

 

 

The post EP150 Tusa ko Katha appeared first on Herne Katha.

EP149 Chharka Bhot ko Katha

हेर्ने कथा 4 months ago

प्राय हिमाली गाउँका कथा उस्तै उस्तै हुन्छन् । हिउँद छल्ने र बर्खा पछ्याउने उकाली ओरालीका कथा । चौंरी र च्याङ्ग्रा गोठका कथा । अलिअलि खेतीका कथा । तिब्बतसँगका व्यापारका कथा ।  चिसो कथा । शान्त कथा । कठीन कथा । 

 

नेपालकै अग्लो मानव वस्तीका रुपमा चिनिने उपल्लो डोल्पाको छार्का भोटको कथा पनि उस्तै उस्तै छ । तर यहाँ विस्तारै कथाको लय फेरिँदैछ । 

 

छार्का भोटको कथा

 

४३५० मिटरको छार्का गाउँमा चिनियाँ मोटरबाइक दुई चार वर्ष पहिले भित्रेका हुन् । ट्याक्टरहरु पोहोर साल र दुई चार जिप यसैपालि । 

 

यो प्राचीन गाउँले डोजर पनि यसैपालि देखेको हो । २ महिनाअघि आएको डोजरलाई स्वागत गर्न नपाएकाहरु आज विहानै डोजरलाई खादा लगाउँदैछन् । 

 

Khada Dozer and Talks

 

७१ वर्षकी चिन्डोल आमाले आफ्नै आँगनमा गाडी र ट्याक्टर गुडेको देख्न थालेको धेरै भएको छैन । गावैं थर्काउँदै आँगनमा डोजर गुड्दा उनलाई पीर पर्छ । पुरानो घर डोजरले चर्काइदियो कि भन्ने चिन्डोलको चिन्ता छ । 

 

गाउँसँगै टाँसिएर ठजाङ खोला अर्था भेरी नदी बग्छ । गाउँ जोगाउन पहिलो पटक नदीमा तटबन्धको काम हुँदैछ । 

 

हिमालमा कष्टपुर्ण मजदूरी गर्दा धेरै ज्याला पाउने आशले रुकुम र जाजरकोटका युवाहरु छार्कातिर आएका छन् । काम गर्न आएका एक साथी अचानक विरामी परे । उनको खुट्टा चलेन । 

 

साथीहरुले बिरामीलाई ट्याक्टरमा हाले । एक दिनको  बाटो ट्याक्टरमा । त्यसपछि बिरामी बोकेर हिँड्दा जिल्ला सदरमुकाम दुनै पुग्न अझै ४-५ दिन । 

 

अल्पायूमै श्रीमान् गुमाएकी सोनामलाई हरेशका आँशुले बगाउन सकेन । चट्टान झैं कठोर मनलाई हिउँ जस्तै पगाल्न उनी साँझ विहान गाउँको गुम्बा छिर्छिन् । एउटा कुनामा श्रीमानको तस्बिर सजाइएको यो घर केवल गुम्बा मात्र होइन – प्रेमको मन्दिर हो । 

 

… र यसरी बजिरहन्छ यो हिमाली गाउँमा एउटा मिठो धुन । जुन धुनले भनिरहन्छ चिसो कथा । शान्त कथा । कठीन कथा ।

 

The post EP149 Chharka Bhot ko Katha appeared first on Herne Katha.

EP148 Amlighat ko Katha

हेर्ने कथा 5 months ago

असमको राजधानी गुवाहाटीबाट ६५ किलोमिटर जति पूर्व लागेपछि राजमार्ग छेवैमा एउटा नेपाली बस्ति भेटिन्छ । ठाउँको नाम हो अम्लिघाट । 

 

अम्लिघाटको कथा

 

अम्लिघाट गाई पाल्नेहरुको लागि प्रख्यात छ । 

 

यहाँबाट कपिली नदी धेरै टाढा छैन । तर आजकल भुपेन हजारिकाको गीतमा जस्तो कपिलीपारि गाई हराउँदैनन् । यहाँका मान्छले जङ्गलमा बसेर गाई पाल्न छाडेको वर्षौं भइसक्यो । 

 

घरैपिच्छे गोठ छन् । अनि गोठमा कम्तिमा एउटा – धेरै दुध दिने उन्नत जातका गाई । हरेक घरको फुल टाइम आम्दानीको श्रोत – गाई । 

 

‘गोर्खा’ भनेर चिनिने नेपालीभाषीहरुको सङ्गतले यहाँका रैथाने आसामेली र आदिवासीले पनि गाई पाल्न सिकिसके । 

 

दूध बेचेरै यो गाउँलाई सुखी बनाउने कर्ममा जोडिएको छ, सिताजखला सहकारी –  आज भन्दा ६७ वर्ष पहिला यसै गाउँका अगुवा नेपालीहरुले बनाएको समूह । 

 

साँझ विहान सहकारीको घुम्ती सेवा टोल टोलमा पुग्छ । आँगनमै आएको गाडीमा गाउँलेले पानी नहालेको खाँटी दूध बुझाउँछन् । 

 

रन्जित शर्माको परिवार कुनै समय बर्माबाट असम पुगेका थिए । रन्जितका बुबा पुस्ताका पढेलेखेकाहरुले गाई पाल्नेहरुलाई संगठित गरेका थिए ।  रन्जित अहिले यही सहकारीका अध्यक्ष छन् । 

 

साँझमा गाउँलेहरुले थकाइ मार्ने बेला सहकारीमा दूध प्रशोधनको काम सुरू हुन्छ ।

 

 

The post EP148 Amlighat ko Katha appeared first on Herne Katha.

EP147 Mustang to Dolpo

हेर्ने कथा 5 months ago

यसपालि हामीले उपल्लो डोल्पाको यात्रा गर्ने भयौं । मुस्ताङको बाटो हुँदै । 

 

मुस्ताङदेखि डोल्पासम्म

 

बर्खा लागिसकेको छ । कागबेनीमा पर्यटकहरुको उत्ति सारो चहलपहल छैन । एका विहानै हिँड्ने तयार गरिरहँदा डोल्पाका पेम्मा भेटिए । आफ्नी पत्नी शेरापलाई काठमाडौंमा ३ महिनासम्म उपचार गराएर डोल्पा फर्किन लागेका । पेम्माका दम्पत्ती  पनि हामीसँगै डोल्पा जाने भए । 

 

कागबेनी नजिकै कालीगन्डकीको पक्की पुल तरेपछि बाटो उकालो लाग्यो । फल्याक गाउँभन्दा अलि माथि च्याङ्ग्रा गोठालाहरु भेटिए । 

 

बाटो अझै उकालो लाग्यो । बेला बेला कुहिरोले ढपक्कै ढाक्थ्यो । लेकमा रङ्गीचङ्गी बुकी फुलेका थिए । झन्डै ४५०० मिटरको उचाईमा चौंरी चराइरहेका खोटाङका शुभ तामाङ भेटिए । 

 

हिमालका भिराला पाखा र खोंचहरु छिचोल्दै ओरालो झर्यौैं । टाढैबाट साङ्दा गाउँ देखियो । यो बाटोमा पर्ने मुस्ताङको अन्तिम गाउँ । 

 

साङ्दा भन्दा अलि तल एउटा खोलो भेटियो । हामी भन्दा अगाडि लागेको एउटा ट्रक खोलो तर्ने प्रयास गर्दै थियो । ट्रक लिएर आएका थिए म्याग्दीका ब्यापारी सज्जन सुबेदी । डोल्पा पुर्याउने सामान थियो । 

 

सज्जनले हामीलाई आँट दिए । हाम्रो गाडीले पनि खोलो तर्यो । हामीले सज्जनको भिमकाय ट्रक चढ्ने रहर गर्यौं । 

 

उकालो बाटोमा हामी गफिँदै थियौं । ट्रकबाट खट्याट खट्याट आवाज आयो । भारी बोकेको ट्रक उकालोमा बिग्रियो । 

 

त्यसपछि सज्जन पनि हाम्रै गाडीका पाहुना भए । 

 

केही घन्टापछि हामी सुक्साम्बा पुग्यौं । जहाँ मोटरबाटो सकिन्छ । यहाँबाट गाडीका भारी खच्चडले बोक्छन् । 

 

हाम्रा सामान खच्चडले बोके । खच्चड अघि लागे, हामी पछि । 

 

दाया बायाँ अग्ला पहरा थिए । साङ्दाछे हिमालको ठ्याक्कै फेदिको खोँचमा धौलागिरी काखबाट आएको ठाडो खोलो थियो । खोला बाटो थियो, बाटो खोला थियो । ठाउँ ठाउँमा खोला तर्दै हामी स्याँ स्याँ गर्दै उकालो लागिरह्यौं । 

 

यही खोला-बाटोका ढुङ्गा पन्छाउँदै, जेसिबीले ठेलेर दुई चार ट्याक्टर र जिप उपल्लो डोल्पा पुगेका थिए । 

 

४ घन्टाभन्दा बढि हिँड्दै, रोकिँदै, सास फेर्दै हामी साँझपख भेरोल पुग्यौं । हामी अझै मुस्ताङमै थियौं । 

 

भेरोल चाहिँ तलबाट खच्चडले सामान ल्याएर झार्ने ठाउँ । अनि यहाँसम्म डोल्पाबाट जिप र ट्याक्टर आइपुग्दा रहेछन् । 

 

भेरोलमा दुई वटा पाल होटल थिए । सिजनमा मात्र चल्ने यी होटल हिउँदका ६ महिना बन्द हुन्छन् । 

 

होटलमा कुकको काम गर्न आएका सोलुखुम्बुका शेर्पा दाईले तातो भात खुवाए । एकै दिनमा २८०० मिटरको कागबेनीबाट ४८०० मिटरको भेरोल आइपुग्दा हाम्रा शरिरले पातलो वायुमन्डलको मेसो पाउन सकेका थिएनन् । भेरोलमा हामीलाई निस्सासिएको जस्तो भइरहेको थियो । त्यो रात हामी निदाउन सकेनौं । 

 

भोलिपल्ट विहानै हामीलाई डोल्पा लिएर जाने जिप आइपुग्यो । जीपसँगै आइपुगे छार्का ताङसोङ गाउँपालिकाका उपाध्यक्ष कर्मा ढुण्डुप । 

 

भेरोलबाट केही बेर उकालो लागेपछि समथर भुभाग भेटिन थाल्यो । रोल्पाली भाइले हिमालमा जिप कुदाए । यो जिप पनि हामी आएकै बाटो जेसिबीले तानेर दुई महिनाअघि मात्र उपल्लो डोल्पा भित्रिएको हो । 

 

हामी लाप्चे शेर्मा पास पुग्यौं । ५१७५ मिटर को उचाईमा रहेको लाप्चे शेर्मा मुस्ताङ र डोल्पाको सिमाना हो । 

 

पश्चिमउत्तरतर्फ डोल्पाका फराकिला उपत्यका देखिन थाले । भर्खर पलाउँदै गरेका घाँसमा  याक र चौंरी चरिरहेका । 

 

निला आकाश, सेता बादल । अनौठो हावा । यो भूगोलका सुन्दरता सबै आँखामा सजाउँ सजाउँ लाग्ने । यतै कतै हराउँ हराउँ लाग्ने । 

 

अलिबेरपछि बाटोमा एउटा चौंरी गोठ भेटियो । 

 

ठाजाङ खोलालाई पछ्याउँदै फराकिला उपत्यका छिचोल्दै हामी अघि लाग्यौं । 

 

केही घन्टापछि हामी ४३५० मिटरको उचाईमा रहेको छार्का भोट पुग्यौं । 

 

जहाँबाट, आउँदा अङ्कहरुमा हामी उपल्लो डोल्पाका थुप्रै कथाहरु भन्न सुरु गर्नेछौैं । 

 

 

 

 

The post EP147 Mustang to Dolpo appeared first on Herne Katha.

Explore news by Source or Category